भीमदत्तमा छाडा चौपायाले सास्ती

भीमदत्तमा छाडा चौपायाले सास्ती Ramaroshan
२०८२ श्रावण २४ गते
भीमदत्तमा छाडा चौपायाले सास्ती

धनगढी ,२३ साउन ।कञ्चनपुरको भीमदत्त नगरपालिकामा छाडा छोडिएका घरपालुवा जनावरको बिगबिगीले किसान हैरान भएका छन् । छाडा पशुचौपायाका कारण रातदिन पहरा दिनु परेको किसानले गुनासो गरेका हुन् । पछिल्लो समय गड्डाचौकी, सुखासाल, मजगाउँ, एरपोर्ट, भासीलगायतका क्षेत्रमा छाडा चौपायाको लामलस्कर नै देखिने गरेको छ । भीमदत्त नगरपालिकाका–१८ का किसान रघुवीर थापाले छाडा पशुचौपायाले रातभर जाग्राम बस्नु परेको गुनासो गर्नुभयो । “दिनमा चौपाया सडकमा बस्ने गरेका छन्, उहाँले भन्नुभयो, “राति खेतमा नोक्सान पु¥याउने  गरेका छन् ।” 

छाडा पशुचौपायाबाट अन्नबाली जोगाउन मुस्किल भएको उहाँले गुनासो गर्नुभयो । चौपाया धपाउन राति स्थानीय मिलेर जाग्राम बस्नु परेको उहाँले दुःखेसो पोख्नुभयो । भीमदत्त नगरपालिका–१६ की लक्ष्मी जोशीले चौपायाले रातदिन हैरान गरेको गुनासो गर्नुभयो । रातिको समयमा २५–३० को सङ्ख्यामा छाडा चौपाया बारीमा आउने गरेको उहाँले बताउनुभयो । राति स्थानीय मिलेर चौपाया धपाउन खटिने गरेको उहाँले दुःखेसो पोख्नुभयो । 

घरको काम छोडेर छाडा चौपाया धपाउन किसानको दैनिकी नै बनेको गुनासो गर्दै आएका छन् । भीमदत्त नगरपालिका–२ की स्थानीय रक्षा बोहोराले  दैनिक जसो साँझ दुई दर्जनभन्दा बढी चौपाया धपाउन जाने गर्नुभएको छ । महुलियामा आउने छाडा पशुचौपायाले धानबाली सखाप पार्ने गरेको भन्दै छाडा पशुचौपायाका लागि रातदिन पहरा दिनु परेको उहाँले गुनासो गर्नुभयो । 

भीमदत्त नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापन गर्न नसकेको भन्दै किसानले गुनासो गरेका छन् । छाडा पशुचौपायाका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत महेन्द्रनगर भासी क्षेत्रमा सवारी दुर्घटनासमेत बढ्दै गएको छ । बिच राजमार्गमा चौपाया ओहोरदोहोर गर्ने, साँझ, राति बास बस्ने गरेका कारण सवारी दुर्घटनासमेत बढ्दो क्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरले जनाएको छ । छाडा पशुचौपायाकै कारण दैनिक दुई÷तीन वटा सवारी दुर्घटनामा पर्ने गरेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताउनुभयो । 

छाडा पशुचौपायाका कारण ट्राफिक व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग, बजार तथा मुख्य सडकमा जताततै छाडा पशुचौपायाको बथान देखिन्छ । छाडा पशुचौपायाको उचित व्यवस्थापन गर्न नसकेको भीमदत्त नगरपालिकाले कैयौँ पटक व्यवस्थापनको प्रयास गरिएको दाबी भने गरेको छ । भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्रमा झन्डै पाँच हजारभन्दा बढी छाडा पशुचौपाया छोडिएको हुन सक्ने नगरपालिकाले आकलन गरेको छ । भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिसिंह धामीले छाडा पशुचौपायाको व्यवस्थापनकै लागि नगरपालिकाले विभिन्न चार स्थानमा गौशालासमेत निर्माण गरेको बताउनुभयो । नगरपालिकाको एकल प्रयासले मात्रै छाडा पशुचौपाया व्यवस्थापन गर्न सकिने अवस्था नदेखिएको सूचना अधिकारी धामीले बताउनुभयो । 

२०७५ मा वडा नम्बर १९ स्थित बागफाँटामा आठ बिघा जमिन भाडामा लिएर ४८ लाखको लागतमा नगरपालिकाले गौशाला निर्माण गरेको थियो तर अहिले सो गौशालाको उचित व्यवस्थापन भने हुन सकेको छैन । यस्तै वडा नम्बर १०, १३, र १२ मा पनि नगरपालिकाले गौशाला निर्माण गरेको नगर प्रवक्ता पदम अवस्थीले बताउनुभयो । नगरपालिकाले चौपाया व्यवस्थापनकै लागि बर्सेनि १० लाखभन्दा बढी रकमसमेत छुट्याउँदै आएको छ तर गाईले दुध दिन छोडेपछि किसानले नै पालेका चौपाया छोड्ने गरेकाले व्यवस्थापनमा चुनौती थपिँदै आएको नगरपालिकाका प्रवक्ता अवस्थीले बताउनुभयो ।