ग्रामीण क्षेत्रका सडक हिलाम्मे

ग्रामीण क्षेत्रका सडक हिलाम्मे Ramaroshan
२०८२ श्रावण २४ गते
ग्रामीण क्षेत्रका सडक हिलाम्मे

धनगढी ,२३ साउन ।केही दिनयता भइरहेको अविरल वर्षाका कारण कैलालीको ग्रामीण क्षेत्रका कतिपय सडक हिलाम्मे भएका छन् । सडक हिलाम्मे र खाल्टाखुल्टीका कारण आवतजावत गर्नेलाई सास्ती भएको छ । विकासमा फड्को मारेको धनगढी उपमहानगरपालिकामै पनि सडक हिलाम्मे भएको छ । धनगढी गाउँ–घुइयाघाट–जुगेडा जाने बाटो हिलाम्मे भएपछि सो बाटोमा आवतजावत गर्दै आएका स्थानीयले समस्या भोगिरहेका छन् । धनगढीका अरू सबै क्षेत्रको बाटो बनिसक्दा धनगढी गाउँ–घुइयाघाट–जुगेडा जोड्ने बाटो अहिलेसम्म नबनाइएपछि बर्खामा समस्या भइरहेको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका तुला बखरियाले बताउनुभयो । 

धनगढी गाउँ–घुइयाघाट–जुगेडा बाटोको धनगढीगाउँ चौराहादेखि पाँच सय मिटरमा प्रदेश सरकारको लगानीमा यसै वर्ष कालोपत्रे गरिएको छ । बाँकी क्षेत्रमा भने जताततै ग्राभेल र खाल्टाखुल्टी भएको सडक रहेको छ । बिग्रेको दशक पुगिसक्दा पनि अहिलेसम्म सडक नबनेको स्थानीयले जनाएका छन् । यसै गरी कैलारी गाउँपालिका–६, खरुवाखेरादेखि खरेट्टी राजीपुर जोड्ने बाटो रोपाइँ गर्न तयार पारिएको खेत जस्तो भएको छ । 

पालिकाको अन्यतिर मुख्य सडक पानी पिचसम्म भइसकेको अवस्थामा खरुवाखेरा खरेट्टी सडकलाई जनप्रतिनिधिले उपेक्षा गरेको स्थानीय सागर चौधरीको आरोप छ । खरुवाखेरा खरेट्टी जोड्ने बाटोलाई प्रत्येक वर्ष मर्मत गर्दै आएको जनप्रतिनिधिको दाबी छ ।

अहिलेसम्म यही एउटै सडक मर्मतमा ४०/५० लाख रुपियाँ खर्च गरिसकेको वडाध्यक्ष प्रेमबहादुर चौधरीले बताउनुभयो । “यो धनगढी उपमहानगरपालिकाको पच्चिस घरदेखिसम्मको मुख्य बाटो हो । यो बाटो भएर ढुङ्गा, गिट्टी, बालुवा बोक्ने ठुला सवारीसाधन गुड्छन्,” उहाँले भन्नुभयो, “त्यसैले पानी पर्नेबित्तिक्कै बाटो दबिन्छ र पानी जमेर हिलो हुन्छ ।”