३० घण्टादेखि कैदीबन्दीको कब्जामा कैलाली कारागार

३० घण्टादेखि कैदीबन्दीको कब्जामा कैलाली कारागार Ramaroshan
२०८२ श्रावण २६ गते
३० घण्टादेखि कैदीबन्दीको कब्जामा कैलाली कारागार

धनगढी, २५ साउन ।शुक्रवार मध्यराति कैदबन्दीहरुबीच भएको झडपपछि प्रहरीले कैलाली कारागारमाथि नियन्त्रण गुमाएको छ । ३० घण्टादेखि कैलाली कारागार कैदीबन्दीहरुको नियन्त्रणमा छ ।

शुक्रवार मध्यराति कैदीबन्दीबीच एक जनाको मृत्यु र ४८ जना घाईते हुने गरी भएको सामूहिक झडपपछि प्रहरी कारागार भित्र जान सकेको छैन् । शनिवार बिहान झडपपछिको कारागार भित्रको अवस्था बुझ्न गएका कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन हमाल, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बालनरसिंह राणा सहितका सुरक्षा प्रमुखहरुलाई  कैदीबन्दीहरुले भित्र प्रवेश गर्न दिएनन् ।

कैदीबन्दीहरुले कारागारको प्रवेशद्धारमा सिलिण्डर र प्रेसर कुकर राखेका छन् । सुरक्षाकर्मी भित्र प्रवेश गर्न खोजे सिलिण्डर र कुकर पड्काउने कैदीबन्दीले धम्की दिएका छन् ।

त्यही धम्कीका कारण पनि कारागारभित्र सुरक्षाकर्मीहरु प्रवेश गर्न सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी हमालले शनिवार राति पत्रकारहरुकोसंगको भेटमा कारागारको अवस्था सामान्य भएको र कारागारभित्रको अवस्थाका बारेमा सूचना नाईकेबाट प्राप्त भईरहेको बताए ।

यद्दपि कारागारको नाईके पनि कैदीबन्दीहरुको नियन्त्रणमा रहेकोले नाईकेले दिने सूचना भरपर्दो नहुने स्रोतको दावी छ ।