बाढीपहिरो पीडितलाई घरबासकै चिन्ता

बाढीपहिरो पीडितलाई घरबासकै चिन्ता Ramaroshan
२०८२ श्रावण २६ गते
बाढीपहिरो पीडितलाई घरबासकै चिन्ता

 धनगढी,२५ साउन ।बाजुराका बाढीपहिरो पीडितलाई घरबासकै चिन्ता हुने गरेको छ । यहाँको बुढीगङ्गा, खप्तड छेडेदह, त्रिवेणी, गौमुल, बडिमालिका, बुढीनन्दा, स्वामिकार्तिक, जगनाथ र हिमाली गाउँपालिकाका लगायतका झण्डै एक सय ३५ बस्ती लामो समयदेखि बाढीपहिरोको उच्च जोखिममा छन् । 

यी गाउँ बस्तीको तलमाथि वरिपरीबाट थोरै पानी परे पनि पहिरो बग्ने गरेकोले यहाँका स्थानीयलाई बर्खाको समय पहिरोले बस्ती नै छापिने हो की भन्ने डर हुने भएपछि उनीहरूलाई बर्खा लागेसँगै घरबासकै चिन्ता सुरु हुने गरेको हो ।

गाउँको माथिबाट निरन्तर पहिरो बगिरहन्छ । त्यो पहिरोको नजिक घर छ । अब बर्खा लागेपछि त्यो घरमा कसरी बास बस्ने भन्ने चिन्ता सुरु हुन थालेको स्वामिकार्तिक खापर गाउँपालिका-२ का स्थानीय नरि लहारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँ नजिक धनाल्तको ठुलो पहिरो छ । त्यो पहिरो हिउँदमा रोकिन्छ । बर्खाको समय फेरि बग्न सरु हुन्छ । त्यसका डर छ । तर आर्थिक अभावका कारण अन्य कतै जान सकेको छैन ।”  

हिउँदका महिना आनन्द मनले घरमा बास बस्ने गरेको थिए । अब बर्खा लाग्यो अनि चिन्ता पनि सुरु भएको लुहारले बताउनुभयो । यो चिन्ता नरि लुहारको मात्र होइन यहाँका नाइना, गुइवन, बजेडी र अम्कोटवासीको पनि उस्तै छ । यहाँका स्थानीयले त बर्खाको समय पानी पर्ने बित्तिकै घर छोडेर चौरमा त्रिपाल हाल्ने गर्दछन् । 

उनीहरूको हिउँदमा घर र बर्खाको समय चौरको त्रिपालको बास हुने गरेको छ । हुन त पछिल्लो समय यहाँका स्थानीयलाई बर्खाको समय पहिरो आएपनि भाग्न सहज हुने गरी गाउँ नजिक साइरन नै जडान गरेको छ । 

बजेडी गाउँ लामो समय देखि पहिरोको जोखिममा रहेकोले यहाँ बर्खाको समय यो बस्तीका स्थानीयलाई भाग्न सहज हुने गरी साइरन जडान गरिएको हो । 

स्थानीय सरकारले यी बस्ती स्थानान्तरणका लागि जिल्ला प्रशासनलाई पत्र पठाएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले जोखिमका बस्तीेलाई स्थानान्तरणका लागि गृहमन्त्रालयमा माग गर्दै आएको छ ।

सधैँ बर्खामा गाउँ छोडेर माथि डाँडामा त्रिपाल हालेर बस्थ्याे । तर गत वर्षको बर्खामा भने गाउँमा साइरन जडान गरिएकोले त्यसैको सहारामा कतै नगएर घरमै बसेको बुढीगङ्गा नगरपालिका-२, बजेडीका स्थानीय गोपल लुहारले बताउनुभयो ।

उहाँले भनुभयो, "गुइबनको पहिरोले पुरै बजेडी बस्ती खाली गरिसक्यो । धन हुनेले गाउँ छोडी सक्यो । केही नहुने मात्र यहाँ बसेका छाैं ।” 

हिउँमा पनि पहिरो निरन्तर बगिरहेको छ । बर्खामा त झन कुरै नगरौ । यसले हामीलाई कुन रातमा पहिरोमा पुर्ने हो केही थाहा नभएको लहुराले बताउनुभयो ।

बाजुरामा झण्डै एक सय ३५ भन्दाबढी गाउँ बस्ती बाढिपहिराेको उच्च जोखिममा छन् । यी बस्तीलाई बिगतका केही वर्षदेखि नै स्थानान्तरण गर्नेु पर्ने हो । तर अहिलेसम्म ती बस्ती कतै स्थानान्तरण भएका छैनन् । 

यता बाढीपहिरोबाट प्रभावित भएका घरपरिवारका लागि अस्थायी टहरा निर्माणका लागि झण्डै छ करोड रुपियाँ आएर स्थानीय तहको खातामा राखिदिएको जिल्ला प्रशासनका कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

उहाँले भन्नभयो, “बस्ती स्थानान्तरणका लागि जिल्लाको नौवटै स्थानीय तहबाट आएका सबै सिफारिस गृहमन्त्रालयमा पठाएका छौं ।” बस्ती स्थानान्तरण गर्ने वा नगर्ने भन्ने कुरा उताबाट अहिलेसम्म केही जानकारी नआएको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।