मृतक चौधरीका परिवारलाई पाँच लाख सहयोग दिइने

मृतक चौधरीका परिवारलाई पाँच लाख सहयोग दिइने Ramaroshan
२०८२ श्रावण २७ गते
मृतक चौधरीका परिवारलाई पाँच लाख सहयोग दिइने

धनगढी,२६ साउन ।कैलाली कारागारमा कैदीबिचको हिंसात्मक झडपमा परी ज्यान गुमाएका भरत चौधरीका परिवारलाई प्रदेश सरकारले पाँच लाख रुपियाँ सहयोग गर्ने भएको छ ।

आइतबार राति बसेको प्रदेश सुरक्षा समितिको बैठकले राहत स्वरुप चौधरीका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने निर्णय गरेको हो । गत शुक्रबार राति कारागारभित्र कैदीबिच हिंसात्मक झडप हुँदा घाइते धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय चौधरीको उपचारको क्रममा ज्यान गएको थियो ।

उक्त घटनामा धेरै कैदी घाइते भएका छन् । घाइते कैदीहरुको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने समितिको बैठकले निर्णय गरेको सुरक्षा समितिका सदस्य सचिव एवम् आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले जानकारी दिनुभयो । घाइते कैदीहरुको धनगढी र काठमाण्डौंमा उपचार भइरहेको छ ।