डोटीका सात स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अलपत्र

डोटीका सात  स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अलपत्र Ramaroshan
२०८२ श्रावण २७ गते
डोटीका सात  स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अलपत्र

धनगढी,२६ साउन ।डोटी जिल्लाका विभिन्न सात वटा स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अलपत्र परेका छन् । स्थानीय तहमा आधारभूत अस्पताल सञ्चालन गर्ने उद्देश्यले २०७७ मङ्सिर १५ गते देशभरिका ३९६ वटा वटा स्थानीय तहमा आधारभूत अस्पताल भवनको एकैसाथ शिलान्यास भएको थियो । सोही क्रममा डोटीका सात भवनको पनि शिलान्यास भएको थियो । 

डोटी जिल्लाका कुनै पनि स्थानीय तहमा आधारभूत अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । डोटीको पूर्वीचौकी गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा भवन निर्माणसमेत पूरा हुन सकेको छैन । भवन निर्माण भइसकेको पूर्वीचौकी गाउँपालिकामा पनि दक्ष जनशक्ति र आर्थिक अभावमा अस्पताल सञ्चालनमा आउन सकेको छैन । डोटीको बोगटान फुडसिल गाउँपालिका–२, केदार आखडामा निर्माण भइरहेको १५ शय्याको आधारभूत अस्पतालको भवन अलपत्र अवस्थामा छ । भवन निर्माणका लागि गाउँपालिका र सिएम–प्रसन्न जेभीबिच २०७८ असार १८ गते सम्झौता भएको थियो । २०७९ साल असार २९ गते निर्माण भइसक्नुपर्ने भवनको हालसम्म १५.६३ प्रतिशत काम सम्पन्न भएको छ । 

गाउँपालिकाका तर्फबाट पटक पटक ताकिता गर्दासमेत निर्माण व्यवसायीले लापर्बाही गरेका कारण भवन निर्माण कार्य अगाडि बढ्न नसकेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । जोरायल गाउँपालिकाको १५ शय्याको आधारभूत अस्पताल भवनको हालसम्म ११ प्रतिशत काम भएको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो । भ्याटसहित ११ करोड २१ लाख ५८ हजार रुपियाँमा सम्झौता भएकोमा हालसम्म एक करोड ९६ लाख रुपियाँ निर्माण व्यवसायीलाई पेस्की दिइएको छ । डोटीको केआइसिंह गाउँपालिकामा निर्माण हुने भनिएको १० शय्याको अस्पतालको हालसम्म २१ प्रतिशत मात्रै काम भएको छ । 

बडिकेदार गाउँपालिकामा १० शøयाको आधारभूत अस्पताल स्थापना गर्नका लागि २०७७ मङ्सिर १५ गते शिलान्यास भएको भवनको हालसम्म ३५ प्रतिशत मात्रै काम भएको छ । सायल गाउँपालिकाको आधारभूत अस्पतालको भवनमा हाल पिल्लर राख्ने काम मात्र भएको छ ।