बैतडी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बैतडी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी Ramaroshan
२०८२ श्रावण २७ गते
बैतडी कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

धनगढी,२६ साउन ।२५ जनाको क्षमता भएको कारागार कार्यालय बैतडीमा अहिले ६३ जना कैदीबन्दी र थुनुवा राख्दा बन्दीहरुको दैनिकी कष्टकर बनेको छ । भीडभाडका कारण बसाइ, स्वास्थ्य तथा सरसफाइमा समस्या कारागार कार्यालयका प्रमुख धारा भण्डारीले बताउनुभयो ।

१५ जना पुरुष र १० जना महिला गरी २५ जनाको क्षमता रहेको कारागारमा हाल ५३ जना कैदीबन्दी र १० जना थुनुवा छन् । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बसाइ व्यवस्थापनमा निकै समस्या भइरहेको कारागार प्रमुख भण्डारीले बताउनुभयो ।

यस्तै, भीड कम गर्न केही महिला बन्दीलाई डडेल्धुरा पठाइए पनि समस्या समाधान हुन सकेको छैन । बन्दीको बसाइ व्यवस्थापनका लागि खाट माथि खाट राखिएको छ । कैदीबन्दीहरुले पर्याप्त खुला स्थान नपाउने, भीडका कारण दम घुटिने र स्वास्थ्य जोखिम बढ्ने समस्या हुने गरेको एक कैदीबन्दीले गुनासो गरेका छन् ।

वि.सं. २०४० सालमा निर्माण भएको कारागार भवन पुरानो र जीर्ण भइसकेको छ । जस्तापाताले छाएको भवन वर्षातमा चुहिने र हिउँदमा शीत झर्ने समस्या रहेको छ । जीर्ण संरचना र भीडभाडको संयोजनले बन्दीहरुको अवस्था झन असहज बनेको उहाँको भनाइ छ ।

यसैगरी, सघन सहरी तथा भवन निर्माण आयोजना डोटीमार्फत १० करोड रुपियाँ लागतमा नयाँ कारागार भवन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको प्रमुख भण्डारीले बताउनुभयो । आगामी असोज–कार्तिकदेखि बन्दीगृह निर्माण कार्य सुरु हुने तयारी भैरहेको कारागार कार्यालय बैतडीले जनाएको छ ।