नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री

नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री Ramaroshan
२०८२ श्रावण २७ गते
नेपालगञ्ज दिल्ली सिधा उडानका लागि पहल गर्छुः परराष्ट्रमन्त्री

काठमाण्डौ २६ साउन/परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छन् । नेपालगञ्ज दिल्ली उडानका लागि पहल गरिदिन आग्रह गर्दै सोमबार मन्त्रालयमा आएका बाँकेका प्रमुख राजनीतिक दलका नेता, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने बाँके र बर्दियाका सांसद, उद्योगी व्यवसायी, नागरिक समाजका प्रतिनिधि एवं अन्य सरोकार भएकाहरुसँग सो प्रतिबद्धता व्यक्त गेकी हुन् ।

“सो उडानका लागि मैले पहिलेदेखि नै पहल गरिआएकै छु । नेपालगञ्ज दिल्ली उडानको एजेण्डालाई हामी प्राथमिकतामा राखेका छौँ ।” मन्त्री डा राणाले भनिन् “यो उडानले नेपाल र भारतलाई नै पारस्परिक लाभ पुग्ने र कनेक्टिभीटी जति बढाउन सक्यौँ त्यति धेरै नेपाललाई फाइदा पुग्ने भएकाले म यो उडानका लागि लागिपर्नेछु ।”

नेपाल र भारतका बीचमा कनेक्टिभिटी बढाउन सक्दा मात्र पर्यटन, पारवहन, उद्योग व्यापार तथा जनसम्पर्क लगायतमा बृद्धि हुने र यसबाट दुवै पक्षलाई लाभ पुग्ने मन्त्री देउवाले बताईन् । यो उडानले पश्चिम नेपालको अर्थतन्त्रमा उल्लेख्य योगदान पुग्ने र त्यस क्षेत्रको मुहार नै फेरिने बताउँदै मन्त्री डा राणाले नेपालगञ्जमा पनि होटल लगायतका आवश्यक पर्यटन पूर्वाधारहरु बनिसकेकाले नेपालगञ्ज दिल्ली उडानका लागि आफू गम्भीरताका साथ लाग्ने बताईन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणमा यस विषयलाई प्राथमिकताको एजेण्डाका रुपमा समावेश गरिदिन बाँके र बर्दियाका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय टोलीले आज मन्त्री डा राणालाई भेटेर सो आग्रह गरेको हो ।

त्यस अवसरमा नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ का रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य रहेको बताउँदै यसबाट सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने बताईन् । नेपालगञ्ज विमानस्थलबाट प्रतिघन्टा ६०० यात्रुलाई सेवा दिन सकिने र यस उडानका लागि आवश्यक सबै पूर्वाधारहरु निर्माण पनि भइसकेको छ ।