बर्खामा रात काट्नै मुस्किल
धनगढी,२७ साउन । बाजुराका अधिकांश ठाउँका स्थानीय बर्खाका रात चिन्तामै काट्न बाध्य हुँदै आएका छन् । बर्खाको समय थोरै पानी परे पनि गाउँबस्तीको तलमाथिबाट पहिरो जाने गरेकाले उनीहरू बर्खाका रात चिन्तामै काट्न बाध्य भएका हुन् । खप्तडछेडेदह गाउँपालिका–३, धुर्तोलाकी सङ्गम रावतले भन्नुभयो, “हाम्रा लागि त अहिले बर्खाको रात चिन्ताको रात भएको छ ।”
हिउँदमा पानी नपर्ने तथा पहिरो नजाने भएकाले त्यतिबेला ढुक्कले रात काट्ने गरेको भए पनि बर्खाको समय भने निकै डर हुने गरेको रावतले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँको वरिपरि पहिरो छ । बर्खाको समय त्यो पहिरो बढी बग्ने भएकाले त्यसले राति सुतेका बेलामा कहिले घरसहित आफूलाई पुर्ने हो भन्ने डरले रात काट्नु परेको छ ।” त्यो बस्तीलाई सुरक्षित स्थानमा सार्ने भनिएको छ तर अहिलेसम्म कतै पनि नसारेकाले बर्खाका रात चिन्तैचिन्तामा काट्ने गरेको रावतले बताउनुभयो ।विसं २०५५ मा धुर्तोलाको गाउँमाथिबाट गएको पहिरोले त्यहाँ जनधनको क्षति गरेको थियो । अहिलेसम्म यो निरन्तर बगिरहेको छ । यसले धुर्तोला र टुनीसैनवासीको अधिकांश जमिन सखाप पारिसक्यो । अहिलेसम्म कुनै निकायको ध्यान छैन । यहाँका बासिन्दाको गुनासो छ । अघिल्लो वर्ष बस्ती स्थानान्तरणका लागि विस्थापित घरधुरी तथ्याङ्क सङ्कलन गरिएको हो ।
यो बस्ती स्थानान्तरणका लागि सम्बन्धित निकायसँग पहल गर्दै आएको खप्तडछेडेदह गाउँपालिका–३ का वडाध्यक्ष बिर्खबहादुर रावतले बताउनुभयो । त्यसका लागि यहाँका जोखिम बस्तीलाई स्थानान्तरण गर्नका लागि गृह मन्त्रालयमा पठाएको छ तर त्यसको जवाफ अहिलेसम्म नआएको जिल्ला विपत् व्यवस्थापन समिति संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।

