पत्रकार महासंघ कैलालीद्वारा नागरिक–पत्रकार सम्बन्ध बिषयक अन्तरक्रिया सम्पन्न
धनगढी/नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा “नागरिक र पत्रकार बीचको सम्बन्ध” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानव अधिकार आयोग, इन्सेक, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, खेलकुद क्षेत्रका प्रतिनिधि, यातायात, श्रमिक बर्ग, निजि बिद्यालय, स्वास्थ्य, गैरसरकारी संस्था, नागरिक अगुवा, अधिकारकर्मी, पत्रकार, समाजसेवी, युवा तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।
अन्तरक्रियामा पछिल्लो समय सञ्चार क्षेत्रमाथि भइरहेको आक्रमण, पत्रकारितामाथि उठिरहेका प्रश्न तथा मर्यादित र उत्तरदायी पत्रकारिता निर्माणका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, पत्रकारिता पेशामा देखिएका अवसर र चुनौतीबारे पनि सहभागीहरूबीच विचार–विमर्श भएको थियो। कार्यक्रमका सयोंजक तथा महासंघ कैलालीका कार्यसमिति सदस्य दिनेश बिष्टले “पत्रकारिता र अहिलेको अवसर तथा चुनौती” विषयमा प्रस्तुतीकरण दिएका थिए।
उनले बदलिँदो सूचना–प्रविधि, सामाजिक सञ्जालको प्रभाव, प्रेस स्वतन्त्रता र नैतिक पत्रकारिताको आवश्यकता विषयमा आफ्ना विचार राखे। कार्यक्रमको सञ्चालन महासंघ कैलालीका सचिव तेजराज भट्टले गरेका थिए। महासघं कैलालीका अध्यक्ष श्रवण देउवाले नागरिक सगंका यस्ता कार्यक्रम जिल्लाका बिभिन्न ठाउँमा गरिने बताए । बिभिन्न ठाउँमा पत्रकारिता माथी गरिने प्रश्न अब प्रत्यक्ष रुपमा गर्न उनले आग्रह गरे । पत्रकारिता पेषालाई मर्यादित बनाउन नागरिकको सहयोग अपरिहार्य रहेको उनले बताए ।

