आधारभूत स्वास्थ्यकेन्द्र प्रभावकारी सेवा दिन सक्ने गरी सक्षम बनाउनुपर्छ : मन्त्री खड्का

आधारभूत स्वास्थ्यकेन्द्र प्रभावकारी सेवा दिन सक्ने गरी सक्षम बनाउनुपर्छ : मन्त्री खड्का Ramaroshan
२०८२ भाद्र ०२ गते
आधारभूत स्वास्थ्यकेन्द्र प्रभावकारी सेवा दिन सक्ने गरी सक्षम बनाउनुपर्छ : मन्त्री खड्का

धनगढी,३१ साउन । “स्वास्थ्यकर्मीको सम्मान गरौँ, श्रमशक्ति नै राष्ट्रभक्ति हो” भन्ने मूल नाराका साथ नेपाल स्वास्थ्यकर्मी संघको तेस्रो जिल्ला अधिवेशन शनिबार कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले आधारभूत स्वास्थ्यकेन्द्रलाई बलियो, सुविधा सम्पन्न र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “आधारभूत स्वास्थ्यकेन्द्रले प्रभावकारी सेवा दिन सक्ने गरी सक्षम बनाउनु आवश्यक छ। त्यसमा काम गर्ने स्वास्थ्यकर्मीहरूको पेसागत हकहितका लागि प्रदेश सरकार सकारात्मक छ।”

मन्त्री खड्काले प्रदेश सरकारले स्वास्थ्य ऐन २०७६ बनाइसके पनि त्यसको कार्यान्वयन हुन नसकेको उल्लेख गरे। उनले ऐन कार्यान्वयनमा समस्या आए समयानुकूल संशोधन गर्नुपर्ने बताए। सो ऐनअनुसार सरकारी अस्पतालदेखि ३०० मिटरभित्र निजी अस्पताल, फार्मेसी र क्लिनिक सञ्चालन गर्न नपाइने व्यवस्था भए पनि हालसम्म लागू गर्न नसकिएको व्यावहारिक कठिनाइ रहेको उनले स्पष्ट पारे।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस कैलालीका कार्यवाहक अध्यक्ष खेमराज चौधरीले पेशागत संगठनहरूले आफ्नो भूमिकाबारे स्पष्ट हुनुपर्नेमा जोड दिए। उनले भने, “पेशागत रूपमा दक्ष भएर सेवा दिन संगठनलाई चलायमान बनाउनुपर्छ। नेपाली कांग्रेसको सरकारले स्वास्थ्य क्षेत्रमा राम्रो काम गरेको छ। स्वास्थ्यकर्मीको समस्या समाधानका लागि सबैले पहल गर्नुपर्छ।”

त्यसैगरी नेपाली कांग्रेस बर्दगोरिया गाउँपालिकाका सभापति कृष्ण बिष्टले स्वास्थ्यकर्मीहरूको सुरक्षाका सवालमा आक्रोश प्रकट गर्दै नेतृत्व नै कमजोर रहेको टिप्पणी गरे। उनले पार्टीभित्र आन्तरिक राजनीति र असुरक्षा बढ्दै गएको उल्लेख गर्दै स्वास्थ्यकर्मीको पेशागत सुरक्षामा ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले संघीयता लागू भइसके पनि स्वास्थ्यकर्मीका समस्या जस्ताको त्यस्तै रहेको धारणा राखे।

शुभकामना मन्तव्य दिनेहरूमा नेपाल चिकित्सक संघका केन्द्रीय सदस्य डा। मेराज अन्सारी, स्वास्थ्यकर्मी संघका केन्द्रीय सचिव हर्कबहादुर खड्का, कांग्रेस कैलाली प्रचार विभाग प्रमुख तृपेन्द्र भुसाल, कांग्रेस घोडाघोडीका सभापति बमबहादुर सिंहलगायत रहेका थिए। अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने जनाएको छ।