कैलालीमा १० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिइन् एक महिला

कैलालीमा १० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिइन् एक महिला Ramaroshan
२०८२ भाद्र ०१ गते
कैलालीमा १० महिने छोरीसहित झुन्डिएको अवस्थामा मृत भेटिइन् एक महिला

कैलाली । कैलालीमा एक महिला र उनकी १० महिनाकी छोरीको शव रुखमा झुन्डिएको अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सुखडका अनुसार घोडाघोडी नगरपालिका-७ निवासी २१ वर्षीया आरती डंगौरा र उनकी छोरी अनुजा टगौरा मृत अवस्थामा भेटिएका हुन् ।

साउन २९ गतेदेखि बेपत्ता भएकी आमा-छोरी आज नजिकैको गौरीशंकर सामुदायिक वनमा मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय सुखडका डीएसपी रमेशदत्त अवस्थीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

उनले भने, ‘शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पताल पठाइएको छ । अहिलेसम्म कसैले जाहेरी दिएको छैन तर हामी छानबिन गरिरहेका छौँ ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरूमा छोरीलाई झुण्ड्याएर र त्यसपछि आमाले आत्महत्या गरेको देखिन्छ । तर, विस्तृत घटना अनुसन्धानपछि मात्र भन्न सकिने प्रहरीको प्रष्टोक्ति छ ।

आरती डंगौराको दुई वर्षअघि बिहे भएको थियो ।