कैलालीमा भूमिहीनलाई लालपुर्जा वितरणको तयारी

कैलालीमा भूमिहीनलाई लालपुर्जा वितरणको तयारी Ramaroshan
२०८२ भाद्र ०२ गते
कैलालीमा भूमिहीनलाई लालपुर्जा वितरणको तयारी

धनगढी — भूमि समस्या समाधान आयोग कैलालीले जिल्लाका विभिन्न पालिकामा भूमिहीन दलित र सुकुम्बासीलाई पहिलो प्राथमिकतामा राखी लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । आयोगका अनुसार भदौ मसान्तभित्र धनगढीसहित पाँच पालिकामा पुर्जा वितरण सुरु हुने भएको छ ।

भदौ मसान्तभित्र धनगढी उपमहानगरपालिका,गोदावरी नगरपालिका,लम्कीचुहा नगरपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा लालपुर्जा वितरण गर्ने तयारी भएको आयोगका अध्यक्ष यज्ञराज उपाध्यायले जानकारी दिए ।

उनले पहिलो चरणमा जग्गा भोगचलन गरिरहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई पहिलो प्राथमितामा राखेको बताए । उनले भने ‘नापचाँजको काम लगभग सम्पन्न भएको छ । पुर्जा बनाउने र पुनः प्रमाणीकरण गर्ने काम भइरहेको छ । आयोग र स्थानीय तहका कर्मचारी त्यसमा लागेका छन् ।’

जिल्लाका सबै पालिकामा आयोगले काम गरिरहेको बताउँदै उनले सीतित कर्मचारी र सीमित स्रोत साधनका बीच आयोगले कामलाई तीब्रता दिएको बताए । उनले तीन पालिकामा जग्गा नापजाँचको काम बाँकी रहेको र छिट्टै सम्पन्न हुने बताए ।

आयोगमा जिल्लाका १३ वटै पालिकाका १ लाख ४० हजार ३५८ निवेदन दर्ता भएको उनले जानकारी दिए । अध्यक्ष उपाध्यायका अनुसार भूमिहीन दलितका ७ हजार ६ सय ३१,भूमिहीन सुकुम्बासीका १३ हजार ९ सय १४ र अव्यवस्थित बसोबासीका १ लाख १८ हजार ८ सय १३ निवेदन आयोगमा प्रविष्ट भएका छन् ।

त्यस्तै,अघिल्लो आयोगका अपूरा कामको पूर्णता दिने अधिकार यस आयोगलाई भएको र अघिल्ला आयोग,कार्यदल,समितिका अपूरा ५ हजार २ सय १४ परिवारका फाइल प्रविष्ट गरिएको उनले बताए ।