केएमसीको बीएचएम कार्यक्रम : पहिलो वर्षमै उत्कृष्ट नतिजा

केएमसीको बीएचएम कार्यक्रम : पहिलो वर्षमै उत्कृष्ट नतिजा Ramaroshan
२०८२ भाद्र ०२ गते
केएमसीको बीएचएम कार्यक्रम : पहिलो वर्षमै उत्कृष्ट नतिजा

धनगढी,२ भदौ । कैलाली बहुमुखी क्याम्पसले स्नातक तहमा होटेल म्यानेजमेन्ट (बीएचएम) कार्यक्रम सञ्चालन गरेको पहिलो वर्षमै उत्कृष्ट शैक्षिक नतिजा हासिल गरेको छ।जसमा प्रथम सेमेस्टरमा जयन्ती चौधरी र पविना चौधरीले समान ३.९० जीपीए सहित सुदूरपश्चिम विश्वविद्यालय टप गरेका छन्।

त्यसैगरी होटल म्यानेजमेन्ट कार्यक्रममा अध्ययनरत प्रथम सेमेस्टरका जम्मा १९ जना मध्ये १७ जना अर्थात ८९.४७ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन्। जसमा प्राध्यापक र विद्यार्थीहरुको विषयगत उत्तीर्ण दर ९४ देखि १०० प्रतिशत रहेको बीएचएम कार्यक्रम प्रमुख उप–प्राध्यापक नरेन्द्र शाहले जानकारी दिए।

यो क्याम्पसकै लागि ऐतिहासिक सफलता भएको र सबै सदस्यहरूको लगाव, मेहनत प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि कार्ययोजना अनुरूप इमान्दारी पूर्वक विद्यार्थीहरूको विश्वास जित्ने गरि काम गर्ने उनले बताए।

पहिलो व्याचले उत्कृष्ट नतिजा हासिल गरेपछि क्याम्पसको गरिमा र आत्मविश्वास बढेको क्याम्पस प्रमुख सह–प्राध्यापक डा।लोक बहादुर बिष्टले बताए। “विद्यार्थीहरुको नतिजाले वास्तवमै प्रफुल्लित र गौरवान्वित बनाएको छ” उनले भने,” होटल म्यानेजमेन्ट कार्यक्रम नै सैद्धान्तिक भन्दा प्रयोगात्मक बढी हुने भएकोले उच्च गुणस्तरको प्रयोगशाला निर्माण गरेका छौँ।”

भविष्यमा रोजगारमुखी जनशक्ति र तीनको व्यवस्थापन र सिकाइको लागि क्याम्पसबाट कुनै कसर बाँकी नराख्ने उनले बताए। बजारको भन्दा सर्वसुलभ शुल्कमा ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत व्यवहारिक पाठ्यक्रम सहित कैलाली बहुमुखी क्याम्पसमा उक्त कार्यक्रम गत वर्षबाट सञ्चालनमा आएको हो ।