कैलालीको गौरीगङ्गा नगरपालिकाको राजस्व पेट्रोल पम्पको खातामा

कैलालीको गौरीगङ्गा नगरपालिकाको राजस्व पेट्रोल पम्पको खातामा Ramaroshan
२०८२ भाद्र ०८ गते
कैलालीको गौरीगङ्गा नगरपालिकाको राजस्व पेट्रोल पम्पको खातामा

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलले ठेकेदारको मिलेमतोमा नगरपालिकाको राजस्व आफ्नै निजी पेट्रोल पम्पको खातामा जम्मा गराएका छन् । सो नगरपालिकाको वडा नं. ४ मा रहेको जोगनिया तालको ठेक्काबाट सङ्कलन भएको पाँच लाख राजस्व नगरप्रमुख कँडेलको निजी मनकामना पेट्रोल पम्पको खाता जम्मा भएको पाइएको छ । यो रकम करिब दुई वर्षअघि पेट्रोल पम्पको खातामा जम्मा भएको नगरपालिकाले जनाएको छ तर नगरप्रमुख कँडेल भन्छन्, “मेरो पेट्रोल पम्प र ठेकेदारबिच पहिलेदेखि आर्थिक कारोबार हुने गरेकाले सायद सोही खातामा रकम जम्मा गरेको हुनु पर्छ ।” नगरपालिकाको राजस्वको रकम आफूले पेट्रोल पम्पको खातामा हाल्न नलगाएको दाबी गर्दै उनले आफ्नो निजी खातामा रकम जम्मा गर्न लगाएको भ्रम छरेर आफ्नो चरित्रहत्या गरेको गुनासो गरे ।

पेट्रोल पम्पमा जम्मा भएको रकम नगरपालिकाको हुँदै होइन, ठेकेदार र पेट्रोल पम्पसँग भएको कारोबारको रकम हो, त्यसलाई कसैले पालिकाको राजस्व हो भनी भ्रम फैलाउने काम गरेको दाबी गर्दै उनले ठेकेदारले जम्मा गरेको रकमको हिसाब भइसकेको अब त्यहाँ रकम पनि बाँकी नरहेको बताए । 

तर वडा नं. ९ का वडाध्यक्ष राजकुमार थारूले कार्यपालिकामा यो विषय उठेपछि नगरप्रमुखले गल्ती स्वीकार गर्दै छिट्टै रकम नगरको खातामा फिर्ता गर्ने प्रतिबद्धता जनाएको बताए । उनले सो रकम राजस्व शाखामा जम्मा हुनुपर्ने हो, व्यक्तिको खातामा जम्मा हुनु भनेको नगरप्रमुखको गल्ती भएको बताए । दुई वर्ष भइसक्यो, हालसम्म सो रकम नगरको राजस्व शाखामा दाखिला नभएको उनले बताए । तालको ठेक्का लिएका ठेकेदार मोहन गिरीले नगरप्रमुख कँडेलसँग आफ्नो आर्थिक कारोबार भइरहने भएकाले सो रकम दुई पटक गरेर नगरप्रमुखको पेट्रोल पम्पमा जम्मा गरेको बताए । “पहिलादेखि कारोबार भइरहेको कारण मलाई सोही खातामा जम्मा गर्न सजिलो भयो मैले जम्मा गरेको हुँ, पछि मलाई काम परेपछि सो रकम फिर्ता पनि लिएको हुँ,” उनले भेन, “राजस्व तिर्नुपर्ने भए पालिकाको खातामा तिर्न तयार छु ।” 

नगरपालिकाकाले ठेकेदार मोहन गिरीलाई राजस्वको पैसा जम्मा गर्न दुई पटक पत्राचार गरेको तर हालसम्म सो रकम जम्मा नगरेको राजस्व शाखाका प्रमुख चित्रराज जोशीले बताए । तालको ठेक्का उनले पालिका गठन हुनुअघि साबिक चौमाला गाविससँग लिएका थिए । अहिले पहिलेको ठेकेदारको सम्झौता अवधि सकिएपछि नयाँ व्यक्तिलाई सो तालको ठेक्का दिइएको पाइएको छ । 

स्थानीय रोहित भाटले राजस्व शाखामा बुझाउनुपर्ने रकम नगरप्रमुखले व्यक्तिगत पेट्रोल पम्पमा जम्मा हुनु गम्भीर विषय भएको भन्दै छानबिन समिति गठन गर्नुपर्ने बताए । गौरीगङ्गा नगरपालिकामा जोगनिया ताल मात्र होइन, भैँसवा, वनताल, लोटेहुवा, रारा, त्रिवेणी र चम्रैया तालसमेत ठेक्कामा दिइएका छन् तर कसले, कहिले, कति रकममा ठेक्का लियो भन्ने कुनै अभिलेख नगरपालिकासँग छैन । नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीको बिल भर्पाईको विषयमा कुरा नमिल्दा केही समयअघि जोशीमाथि समेत आक्रमण भएको थियो । गत साउन १ गते नगरप्रमुख कँडेलका ज्वाइँ उमेश जोशीले कार्यकक्षमै धर्मानन्द जोशीमाथि हातपात गर्नुभएको थियो । फरार रहेका उमेश जोशी पछि अदालतमा उपस्थित भएर छ हजार रुपियाँ धरौटीमा रिहा भएका छन् ।