कैलाली, कञ्चनपुर बाट करिब डेढ लाख बराबरका भन्सार छलीका सामान बरामद

कैलाली, कञ्चनपुर बाट करिब डेढ लाख बराबरका भन्सार छलीका सामान बरामद Ramaroshan
२०८२ भाद्र ०८ गते
कैलाली, कञ्चनपुर बाट करिब डेढ लाख बराबरका भन्सार छलीका सामान बरामद

धनगढी,८ भदौ । प्रहरीले करिब डेढ लाख बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । शनिबार कैलाली र कञ्चनपुरबाट प्रहरीले अन्दाजी १ लाख ४४ हजार८६० रुपैया बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीबाट इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी गस्ती टोलीले ९४ हजार मुल्य बराबरका सामान बरामद गरेको छ ।

प्रहरीका अनुसार जिल्लाको टीकापुर नगरपालिका– ९ दसगजा सामुदायिक बनस्थित जंगलमा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याईएका समान बरामद गरिएको हो । बरामद गरिएका सामानहरुमा कुर्ता सुरुवाल, ट्राउजर, टिसर्ट लगायत रहेको प्रहरीले बताएको छ ।

यस्तै कञ्चनपुरबाट प्रहरीले ५० हजार ८६० रुपैया बराबरका सामान बरामद गरेको छ । जिल्लाका भिमदत्त नगरपालिका– १७ मझगाँउ नहर नजिक र दोधारा चाँदनी नगरपालिका– ७ कञ्चभोज स्थित सडक किनाराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार बरामद गरिएका सामग्रीहरुमा सुजी, पेय पदार्थ, बच्चाका खेलौना, प्लाष्टर पट्टी लगायत रहेका छन । उक्त सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारेको बताईएको छ ।