अछाममा महिनावारी हुँदा त्रिपाल टाँगेर सुतेका महिला र बालिकाको ढुंगा लागेर मृत्यु, एक गम्भीर घाइते

अछाममा महिनावारी हुँदा त्रिपाल टाँगेर सुतेका महिला र बालिकाको ढुंगा लागेर मृत्यु, एक गम्भीर घाइते Ramaroshan
२०८२ भाद्र १३ गते
अछाममा महिनावारी हुँदा त्रिपाल टाँगेर सुतेका महिला र बालिकाको ढुंगा लागेर मृत्यु, एक गम्भीर घाइते

धनगढी,१३ भदौ । पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा सुतेको समयमा ढुंगा लागेर दुई जनाको ज्यान गएको छ। शुक्रबार विहान करिव ३ बजेको समयमा सेलापानी स्थित चुरखोली टोलमा उक्त घटना भएको हो।

वडा अध्यक्ष छत्र बहादुर शाहीका अनुसार मृत्यु हुनेमा ३५ वर्षीय निम खनाल र ८ वर्षीया कविता भण्डारी रहेका छन्। कविता गोरे भण्डारीकी छोरी हुन्। गोरेको श्रीमती ३६ वर्षीया रत्ना भण्डारी शक्त घाइते भएकी छन्। निम र रत्ना दुबै महिनावारी भएको समयमा घरदेखि टाढा खेतबारीमा त्रिपाल टाँगेर सुतेको अवस्थामा घट्ना घटेको वडा अध्यक्ष शाहीले बताउनुभयो। कविता आमासँगै सुत्न गएकी बुझिएको छ।

गाउँ माथिको भिरबाट ढुंगा त्रिपालमाथि खसेको शाहीले बताउनुभयो । उहाँका अनुसार दुबै महिलालाई महिनावारी भएको ६ दिन पुगेको थियो। घाइते रत्नाको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उनलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी बारला पठाइएको उहाँले जानकारी दिनुभएको छ ।

उक्त स्थानमा अनुसन्धान तथा कानूनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको नेतृत्वमा प्रहरी खटिएको जनाइएको छ। भण्डारी परिवारको स्थायी ठेगाना मगलसेन नगरपालिका ६ मा रहेको बुझिएको छ। उनीहरु केही महिना पहिले मात्रै ससुराली गाउँमा गएर बसेको बुझिएको वडा अध्यक्ष शाहीले बताउनुभयो ।