धनगढीमा माइती नेपालको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

धनगढीमा माइती नेपालको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न Ramaroshan
२०८२ भाद्र १३ गते
धनगढीमा माइती नेपालको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न

धनगढी, १३ भदौ । माइती नेपाल धनगढी शाखाले आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सरोकारवाला संघ–संस्था र सञ्चारकर्मीबीच संस्थाले गरेको काम र समन्वयका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा धनगढी उपमहानगरपालिका–२ का अध्यक्ष धर्मराज ओझा, माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, धनगढी उपमहानगरपालिकाको सामाजिक विकास शाखाका प्रतिनिधी, त्रिनगर भन्सार नाकामा कार्यरत निकायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा चेलीबेटी तथा बालबालिकाको बेचबिखन रोकथामका लागि गरिएका गतिविधि, चुनौती र आगामी रणनीतिबारे छलफल गरिएको थियो। माइती नेपालका प्रमुख चौधरीले आर्थिक वर्ष २०८१/८२ मा मात्र १४० जनालाई बेचबिखनको जोखिमबाट जोगाएको, १४३ जनालाई आवासीय सेवा र १३ हजार ८७६ जनालाई परामर्श सेवा प्रदान गरिएको तथ्याङ्क प्रस्तुत गरे। साथै भारतबाट ३ महिलाको उद्धार गरिएको जानकारी समेत उनले दिए।

वडा नं. २ का अध्यक्ष धर्मराज ओझाले मानव बेचबिखन रोकथाममा अभिभावकहरूको भूमिकालाई सर्वाधिक महत्वपूर्ण बताउँदै नाकामा मात्रै निर्भर भएर समस्या समाधान नहुने धारणा राखे।

माइती नेपाल धनगढीले सीमावर्ती क्षेत्रका महिला तथा बालबालिकालाई मानव बेचबिखन र सुरक्षित बसाइ सराइसम्बन्धी सूचना तथा परामर्श प्रदान गर्दै आएको छ। साथै उद्धार, गुणस्तरीय सेल्टर सेवा, कानूनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र परिवार पुनर्मिलनजस्ता सहयोग उपलब्ध गराउँदै आएको छ।

कार्यक्रममा मानव बेचबिखन न्यूनीकरणका लागि सरोकारवाला निकायबीच समन्वय, कार्यशाला, तालिम र जनचेतनामूलक अभियानलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइयो।

मानव बेचबिखन रोकथामका क्रममा सूचना अभाव, खुला सिमाना, साक्षी तथा प्रमाण संकलनमा कठिनाइ, स्थानीयस्तरमा प्रतिकार र दबाब समूहको कमी, दक्ष जनशक्तिको अभाव, लैङ्गिक विभेद, घरेलु हिंसा तथा सामाजिक–धार्मिक कुरितीलाई मुख्य चुनौतीका रूपमा औँल्याइएको छ।