प्याब्सन नेताका विद्यालयकाे गाडी तस्करीमा संलग्न
धनगढी, १४ भाद्र। निजी विद्यालयहरू "विद्यालय शिक्षा विधेयक २०८०" का केही प्रावधान सच्याउनुपर्ने भन्दै आन्दोलन गरिरहेका बेला कैलालीमा प्याब्सनकै नेतृत्वमा रहेका व्यक्तिले चलाएका स्कुलका सवारी साधन तस्करी जस्ताे गम्भीर अपराधमा संलग्न रहेको भेटिएको छ।
निजी विद्यालयको सवारी साधन प्रयोग गरेर शनिबार भारतीय सहर पलियाबाट भन्सार राजस्व नतिरी लाखौँ मूल्यको सामान तस्करी गरी नेपाल भित्र्याएको फेला परेको हो।
यस काममा सामान्य विद्यालय सञ्चालक मात्र होइन विद्यालय सञ्चालकहरूका अगुवा र नेताहरु नै संलग्न रहेको भेटिएको छ। टीकापुरको न्यू लाइट एजुकेशन होम हायर सेकेन्डरी स्कुलका संस्थापक प्रिन्सिपल तथा प्याब्सन कैलालीका अध्यक्ष जयकृष्ण तिमिल्सिना नै तस्करीमा संलग्न रहेको तथ्य सार्वजनिक भएको छ। यस्तै कैलाली प्याब्सनका निवर्तमान अध्यक्ष तथा हालका केन्द्रीय सदस्य टोपेन्द्र शाहकाे कैलाली विद्या निकेतनकाे सवारी साधन पनि भारतबाट भन्सार राजस्व छलेर नेपाल सामान भित्र्याउने कार्यमा संलग्न भेटिएको छ।
तिमिल्सिनाको से १ च ९ ८८ नम्बरको स्कुलको भ्यान र शाहको से १ च २१४२ नम्बरको ओमनी भ्यान शनिबार तस्करीकाे सामान भित्र्याउने कार्यमा व्यस्त रहेका थिए। दुवै भ्यानमा विद्यालयको लोगोसहित नाम लेखिएको छ। विद्यार्थी ओसार्ने प्रयोजनका निम्ति किनिएका सवारी साधन लामो समयदेखि तस्करीमा प्रयाेग भइरहेका छन्।
तिमिल्सिनाको न्यू लाइट एजुकेशन होमकाे भ्यान टीकापुरबाट १ सय किलोमीटरभन्दा टाढा रहेको धनगढी भन्सार नाकाबाट सामान भित्र्याउने कार्यमा भेटिएको छ। टीकापुर नजिकैको खक्रौला नाका छोडेर उनले यति टाढाको नाका प्रयाेग गर्नु रहस्यमय देखिएकाे छ। विश्वसनीय स्रोतका अनुसार खक्रौला नाकामा जाँचमा कडाइ गरेपछि उनले धनगढीलाई रोजेका हुन् ।
छात्रावास पनि चलाएका उनले त्यसका लागि चाहिने सबै सामान भारतबाटै तस्कारी गरी ल्याउने गरेका छन्। नजिकको भन्सार नाका प्रयाेगमा अप्ठ्यारो भएपछि टाढाको नाका प्रयाेग गर्नु परेको सवारी चालकले बताए। केन्द्रीय सदस्य तथा कैलाली विद्या निकेतनका संस्थापक प्रिन्सिपल शाहको ओमनी भ्यान पनि शनिवार पलियबाट भन्सार राजस्व नतिरी सामान भित्र्याउने कार्यमा व्यस्त रह्यो। उनीहरूले विद्यालयको सवारी साधन प्रयोग गरी ल्याएको सामानको आधिकारिक बिल समेत देखाउन सकेनन्। दुवै भ्यान बिहान सवा ९ बजेतिर गौरीफन्टा नाकाबाट पलियाका लागि प्रस्थान गरेका थिए भने अपरान्ह चार बजेपछि नेपाल भित्रिएका थिए। पलियामा
दुवै भ्यानको मर्मत तथा सर्भिस गरिएको थियो।
उनीहरू जस्तै कैलालीका अधिकांश विद्यालयका साना सवारी साधन बिदाको दिन भारतबाट सामान तस्करी गर्ने कार्यमा संलग्न रहने गरेका छन्। उनीहरूले सानोतिनो मर्मतका लागि पनि सवारी साधन पलिया पठाउने गरेका छन्। विद्यालय जस्तो पवित्र संस्था सञ्चालन गर्ने संस्थापक र प्रिन्सिपलहरूले तस्करीजस्ताे जघन्य अपराधलाई प्रोत्साहन दिने गरी बालबालिका ओसार्ने साधनको व्यापक दुरुपयोग गरिरहेका छन्।
तर उनीहरू नै शिक्षा क्षेत्रमा आफूहरूको योगदानको राज्यले कदर नगरेको भन्दै आन्दोलनमा समेत उत्रिएका छन्। विद्यालय जस्तो पवित्र संस्था सञ्चालन गर्ने संस्थापक र प्रिन्सिपलहरूले आफ्ना सवारी साधनहरू निरन्तर तस्करीमा प्रयोग गर्नु अक्षम्य अपराध हो। शैक्षिक सत्र सुरु हुने बेला पाठयपुस्तकका प्रकाशकहरूसँग ठूलो बार्गिनिङ गरी लाखौँ रुपैयाँ कुम्ल्याएर विद्यार्थीलाई एक रूपैयाँ छुट नपाउने अवस्था सिर्जना गरेका स्कुल सञ्चालकहरू त्यसपछि पनि विभिन्न नाममा शुल्क उठाएर अभिभावकको
ढार सेकिरहेकै छन्। त्यतिले नपुगेर राजस्व नतिरी सामान भित्र्याउने कार्यमा समेत प्रत्यक्ष रूपमा संग्लग्न देखिएका छन्।
राज्यका जिम्मेवार निकायहरूले आफ्नो कर्तव्य पूरा नगर्दा विद्यालय सञ्चालकहरूको तस्करी र मनोमानी बढेको छ भने सोझा अभिभावकले समस्या झेल्दै आएका छन्
मापदण्ड विपरीत होस्टेल चलाएर त्यही होस्टेलमा चाहिने खाद्यान्नदेखि अन्य उपभोग्य सामान भन्सार नतिरी नेपाल भित्र्याउने गरेका उनीहरूले अझै पनि पवित्र सेवा गरेका छौँ भन्न मिल्छ त?


