आम नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न माग गर्दै प्रा.डा.गोविन्द केसीले फेरि सुरु गरे अनसन

आम नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न माग गर्दै प्रा.डा.गोविन्द केसीले फेरि सुरु गरे अनसन Ramaroshan
२०८२ भाद्र १५ गते
आम नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न माग गर्दै प्रा.डा.गोविन्द केसीले फेरि सुरु गरे अनसन

कैलाली – चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा गुणस्तर सुधार र आम नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न माग गर्दै प्रा.डा. गोविन्द केसीले फेरि अनसन सुरु गरेका छन्। आइतबारदेखि कैलालीमा बसेर उनले तीन दिने सत्याग्रह प्रारम्भ गरेको घोषणा गरेका हुन्।
डा. केसीले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष हस्तक्षेपका कारण चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट बढाउने गैरजिम्मेवार निर्णय गरेको आरोप लगाइएको छ। उनले यो कदम चिकित्सा शिक्षा ऐनको मर्मविपरीत भएको भन्दै आलोचना गरेका छन्।
उनले भनेका छन्,`विद्यार्थी भर्ना सिट संख्या वृद्धि गर्दा नेताहरू र माफियाको झोला मात्र भरिन्छ, तर शिक्षाको गुणस्तरमा ह्रास आउँछ, जसको प्रत्यक्ष असर आम नेपालीको स्वास्थ्य सेवामा पर्छ।´
डा. केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल तत्काल खोल्नुपर्ने, कैलालीको गेटामा शैक्षिक कार्यक्रम र अस्पताल सेवा संचालन गर्नुपर्ने र अघिल्ला सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राखेका छन्।
उनले लिपुलेकमा भइरहेको सीमा मिचाइको विरोध गर्दै अतिक्रमित भूमि फिर्ता गर्न भारतलाई आग्रह गरेका छन्। साथै, युक्रेनमाथि रुसको आक्रमण र गाजामाथि इजरायलको आक्रमणबिरुद्ध पनि आवाज उठाउँदै युद्ध रोक्नुपर्ने माग गरेका छन्।
सत्याग्रहको घोषणा गर्दै डा. केसीले भनेका छन्, गलत रुपमा गरिएको निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्छ र पूर्व सम्झौताहरू तत्काल कार्यान्वयन हुनुपर्छ। अन्यथा स्वास्थ्य शिक्षा र सेवाको गुणस्तरमा गम्भीर संकट आउनेछ।´