दार्चुलामा अटो दुर्घट्ना हुदाँ एक बालिकाको मृत्यु ,दुई जना वेपत्ता
धनगढी,१६ भदौ ।दार्चुलामा अटो दुर्घट्नामा परी एक बालिकाको मृत्यु हुनुका साथै दुई जना वेपत्ता भएका छन् भने एक घाइते भएका छन् । सोमबार (आज) दिउँसो करिव १ बजेतिर नौगाड गाउँपालिका–५ को सौकेबगर भिरको सडकबाट म–१ ह–११४८ नम्बर अटो नौगाड खोलामा खस्दा अन्दाजी १२/१३ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।
मृतक बालिकाको सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो । सोही अटोमा सवार दुई जना महिला नौगाड खोलामा वेपत्ता भएको जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो । अटोमा चालक सहित पाँच जना सवार रहेको बताइएको छ ।
अटोमा सवार अटो चालक मनीराम भुलको १७ वर्षीया छोरा आयुष भुल घाइते भएका छन् । उहाँलाई घट्ना स्थलबाट उद्दार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल ल्याइएको प्रहरी निरिक्षक रावतले जानकारी दिनुभयो । चालक मनीराम भुल प्रहरी नियन्त्रणमा छन् ।
नौगाड गाउँपालिकाको केन्द्र होपरीगाडबाट धुलिगडातर्फ आउँदै गरेको अटो सडकबाट अन्दाजी ५० मिटर तल नौगाड खोलामा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा धुलिगडा र होपरीगाडबाट प्रहरी चौकीबाट प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

