दार्चुलामा निषेधाज्ञा खुकुलो, जनजीवन सामान्य बन्दै

दार्चुलामा निषेधाज्ञा खुकुलो, जनजीवन सामान्य बन्दै Ramaroshan
२०८२ भाद्र २७ गते
दार्चुलामा निषेधाज्ञा खुकुलो, जनजीवन सामान्य बन्दै

दार्चुला। दार्चुलामा लगातार तीन दिनदेखि जारी निषेधाज्ञालाई आज केही खुकुलो बनाइएको छ । भदौ २४ गते राति १० बजेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै लगिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गरी जनाएको छ । 

यहाँको सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी गरिएको निषेधाज्ञा आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकाले खुकुलोे बनाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।

निषेधाज्ञा खुकुलो गरिएको सूचनाअनुसार विहान ६ बजेदेखि बेलुकी ७ बजेसम्म व्यावसायीहरुले आफ्नो पसल, व्यवसाय, दैनिक कामकाज सञ्चालन गर्न पाउने उहाँले बताउनुभयो । 

निषेधाज्ञा खुकुलो भएसँगै सदरमुकाम लगायतका स्थानको जनजीवन सामान्य बन्दै गएको अनुभुति भएको छ । साथै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै पाँचजना वा सोभन्दा बढी व्यक्ति–समूह मिली सार्वजनिक स्थानमा हिड्डुल गर्न र जमघट गर्न नपाइनेगरी निषेधाज्ञा जारी राख्ने निर्णय भएको उहाँले बताउनुभयो । तोकिएको समयमा पनि अनावश्यक भिडभाड र प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।