कञ्चनपुरमा दुई सामुदायिक वनमा गरिएको अतिक्रमण हटाइयो

कञ्चनपुरमा दुई सामुदायिक वनमा गरिएको अतिक्रमण हटाइयो Ramaroshan
२०८२ भाद्र २८ गते
कञ्चनपुरमा दुई सामुदायिक वनमा गरिएको अतिक्रमण हटाइयो

धनगढी,२८ भदौँ । कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ स्थित दुई वटा सामुदायिक वनमा गरिएको अतिक्रमण आज हटाइएको छ ।

सङ्गठित रूपमा करिब १५० बढी व्यक्तिले अमरजित सामुदायिक वन र प्रगति महिला सामुदायिक वनक्षेत्रमा अस्थायी झुपडी बनाएर बसेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, वन कर्मचारी र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा आज उनीहरूलाई हटाएको हो ।

सुदूरपश्चिम प्रदेशका वन निर्देशक हेमराज बिष्टका अनुसार तीन दिन दिनअघि देखि उनीहरुले झुपडी बनाउन थालेका थिए । “असहज परिस्थितिको फाइदा उठाउँदै सङ्गठित रूपमा वन क्षेत्र अतिक्रमण गर्न आएका व्यक्तिहरूलाई समयमै हटाएर सामुदायिक वन जोगाएका छौँ,” उनले भने ।

स्थायी संरचना निर्माण गर्नुअघि नै हटाउन सफल भएको उनले बताए । अतिक्रमण हटाउने प्रयास दुई पटक असफल भएको थियो । उल्टै अतिक्रमणकारीहरूले आक्रमण गरी वन सुरक्षाकर्मी चढेको गाडीमा क्षति पुर्‍या एका थिए ।

“हामीले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षा माग गरेका थियौँ, उहाँसँगको समन्वयमा सुरक्षाकर्मी परिचालन भएपछि मात्र अतिक्रमण हटाउन सफल भयौँ,” निर्देशक बिष्टले भने ।