सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरु पनि सेनाकै सुरक्षामा
धनगढी,२८ भदौ । जेनजी आन्दोलनका कारण सिर्जना भएको परस्थितीमा सुदूरपश्चिम मुख्यमन्त्री, मन्त्रीसहितका नेताहरुलाई पनि नेपाली सेनाले सुरक्षा दिएको छ । २४ गतेको आन्दोलन सरकारी कार्यालय, राजनीतिक दलका नेता, उनीहरुका घर लगायतका संरचनालाई लक्षित गर्दै प्रदर्शनकारीले आगजनी, तोडफोड तथा लुटपाट गरेका थिए ।
सुुरक्षा स्रोतकाअनुसार प्रदर्शनकारीले नियन्त्रणमा लिएर तोडफोड गरेका बेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री कमलबहादुर शाहसहित प्रदेशका मन्त्रीहरु बैठक बसिरहेका थिए । बैठकमा सुरक्षा निकायका प्रमुखहरु समेत थिए ।
बैठक चलिरहकै बेला ढुंगामुण गर्दै कार्यालय नियन्त्रणमा लिन खोजेपनि भीड तितरवितर गर्दै प्रहरीले बल प्रयोग गरेको थियो । तत्काल नेपाली सेनाको गाडीमार्फत उनीहरुलाई सुरक्षित स्थानमा सारिएको थियो । उनीहरुलाई सेनाले सुरक्षित स्थानमा लगेपछि भने मुख्यमन्त्री कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।
कैलालीमै रहेको नेपाली सेनाको एक ब्यारेकमा सुरक्षित राखिएका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभा सदस्य तथा केही स्थानीय जनप्रतिनिधिहरु अहिले पनि सेनाकै सुरक्षामा छन ।
सैनिक स्रोतकाअनुसार अवस्था समान्य बन्दै गएपछि भने उनीहरुलाई विस्तारै छाड्न थालिएको छ । जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्दै पौडेलले शुक्रबार राति पूर्व प्रधानन्यायाधिश सुशिला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा संसद समेत विघटन गरिएपछि विस्तारै अवस्था समान्यतर्फ उन्मुख भइरहेको छ ।

