बैंकका ६१ कार्यालय क्षति, राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड

बैंकका ६१ कार्यालय क्षति, राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड Ramaroshan
२०८२ असोज ०१ गते
बैंकका ६१ कार्यालय क्षति, राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै लुटियो साढे ३८ करोड

काठमाडौं । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई मात्रै साढे ३८ करोडको क्षति पुगेको छ । बैंकहरूबाट करिब १८ किलो सुन र ५ करोड रुपैयाँभन्दा धेरै नगद लुटिएको हो ।

आन्दोलनकारीले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखा तोडफोड तथा आगजनी गरी ३६ करोड रुपैयाँ बराबरको सुन तथा नगद लुटेका हुन् ।

बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार बैंकको बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद लुटिएको छ ।

‘जेनजी आन्दोलनको नाममा भएको लुटपाट, तोडफोड र आगजनीबाट राष्ट्रिय वाणिज्य बैंकलाई सुन र नगदको क्षति भएको छ,’ रेग्मीले भने, ‘सुन तथा नगद गरेर ३८ करोड ४० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।’

बुधबार कायम भएको सुनको मूल्यका आधारमा मूल्य निकालिएको हो । बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८५ हजार २ सय ७० रुपैयाँ कायम भएको छ । बैंकबाट आन्दोलनकारी ३३ करोड २४ लाख रुपैयाँ भन्दा धेरैको सुन नै लुटेको देखिन्छ ।

प्रदर्शनको क्रममा बैंकको बानेश्वर शाखासँगै भैरहवा भन्सार कार्यालयको शाखाबाट समेत नगद लुटिएको रेग्मीले बताए ।

‘बानेश्वर शाखाको लकर सुरक्षि नै छ, त्यसबाहेक कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त छ,’ रेग्मीले भने,‘ भैरहवाको शाखाबाट करिब १५ देखि २० लाख रुपैयाँ लुटिएको भए पनि कार्यलयमा भने समान्य क्षति पुगेको छ ।’

बैंकबाट लुटिएको सुन धितोमा राखिएका गरगहना भएको उनले जानकारी दिए । सुनका गरगहना धितोमा राखी कर्जा प्रवाह गर्ने क्रममा सुन संकलन भएको उनले बताए ।

प्रदर्शनको क्रममा बैंकको ढुकुटीमै पुगेर नगद र गरगहना चोरी भएको रेग्मीले बताए । रेग्मीका अनुसार प्रदर्शनको क्रममा लुटिएको सुन उक्त शाखामा धितोमा रहेको कुल मध्यको एक चौथाइ हो । बाँकी सुन तथा नगद भने सुरक्षित नै रहेको उनको भनाइ छ ।

‘प्रदर्शनकारीले बानेश्वर शाखामा लुटपाट गरे पनि ढुकुटीमा भएको सबै नगद र सुन लुटिएको छैन,’ रेग्मीले भने ।

भौतिक संरचना कम्प्युटर, फर्निचर, क्यामेरा, प्रिन्टर, कागजपत्रहरू पूर्णरूपमा क्षति पुगेको छ । तर, कर्जाका तमसुकहरू भने सुरक्षित रहेको उनले बताए । बैंकका अन्य शाखाहरूमा पनि भौतिक क्षति पुगेको बताउँदै रेग्मीले भने, ‘बानेश्वर, भैरहवा बाहेक, सरकारी कार्यालयहरू रहेको शाखा तथा काउन्टहरूमा पन क्षति पुगेको छ । अन्य शाखा तथा काउन्टरमा नगद क्षति भएको छैन ।’

नेपाल बैंकर्स संघका अनुसार देशभरि बैंकहरूका ६१ वटा कार्यालयमा आन्दोलनकारीले क्षति पुर्‍याएका छन् । बैंकहरूका केही स्थानका एटीएम मेसिन तोडफोड भएका छन् । बैंकका ती कार्यालयको झ्यालढोका फुटाउने तथा फर्निचर तोडफोड भएको संघले जनाएको छ । पूर्ण रूपमा क्षति भएका केही मात्र रहेको संघले जनाएको छ ।

कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको संघले जनाउको छ ।

त्यसैगरी डेभलपमेन्ट बैंकर्स संघका अनुसार केही विकास बैंकका शाखा कार्यलयमा समान्य भौतिक क्षति भएको देखिन्छ ।

२४ भदौको प्रदर्शनमा सिंहदरबारसहित अधिकांश सरकारी कार्यलयमा तोडफोड र आगजनी भएको छ । त्यसका साथै केही उद्योग तथा व्यवसाय, उद्योगीका निवासमा पनि आगजनी तोडफोड भएको छन् ।