सञ्चालनमा नआउँदै कुरूप बन्यो धनगढी सभागृह

सञ्चालनमा नआउँदै कुरूप बन्यो धनगढी सभागृह Ramaroshan
२०८२ असोज ०२ गते
सञ्चालनमा नआउँदै कुरूप बन्यो धनगढी सभागृह

धनगढी। करोडौँ खर्चेर बनाइएको आकर्षक धनगढी सभागृह सञ्चालनमा नआउँदै कुरूप बनेको छ । जेनजी समूहको आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि धनगढी उपमहानगरपालिका–८ मा रहेको धनगढी सभागृह कुरूप बनेको हो । तीन वर्षअगाडि नै निर्माण भएको यो सभागृह हालसम्म सञ्चालनमा आएको थिएन । आन्दोलनकारीबाट तोडफोड भएपछि सभागृह सञ्चालनको विषय थप अनिश्चित बनेको छ । 

आन्दोलनकारीले सभागृहको सिसादेखि लिएर भित्रको संरचना तोडफोड गरेको वडाध्यक्ष जुगराम चौधरीले बताउनुभयो । “सिसा त कतै बाँकी छैन”, उहाँले भन्नुभयो, “भित्र पनि तोडफोड गरिएको छ ।” सभागृहको सुरक्षामा खट्दै आएका निजी सुरक्षाकर्मीका अनुसार आन्दोलनकारीले सभागृहमा आगजनीसमेत गरेका थिए । उनीहरूले आगो लगाउँदा सभागृहको दुई वटा कुर्सी जलेको छ । आगो निभाइएकाले अन्यत्र क्षति हुन नपाएको निजी सुरक्षाकर्मीले बताएका छन् । आन्दोलनकारीलाई सम्झाइबुझाई गर्दा ठुलो क्षति हुनबाट जोगिएको उनीहरूको भनाइ छ । 

ठुला गोष्ठी, सेमिनार, कार्यक्रम आयोजना गर्र्ने उद्देश्यले सङ्घीय सरकारको ३२ करोड ६० लाख ८१ हजार रुपियाँ लगानीमा सभागृह बनाइएको हो । सभागृहको गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । एक बिघा जमिनमा बनेको सो सभागृह सञ्चालनका लागि धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकिएको छ । 

सभागृहमा ७५३ जना अटाउने मुख्य सभा हल, दुई सय क्षमताको सानो सभा हल रहेको छ । सभागृहमा अन्डरग्राउन्ड पार्किङ रहेको छ । यसै गरी भिआइपी कक्ष, चेन्जिङ कक्ष पनि रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिरमा प्रदेश लगानी तथा विकास सम्मेलन यसै सभागृहमा गर्ने गरी तयारी अगाडि बढाएको थियो । तोडफोड भएको सभागृहको मुख्यमन्त्री कमलबहादुर शाहले अनुगमन गर्नुभएको छ ।