देशभर ४८ जना प्रहरीएसपीको सरुवा

देशभर ४८ जना प्रहरीएसपीको सरुवा Ramaroshan
२०८२ असोज ०२ गते
देशभर ४८ जना प्रहरीएसपीको सरुवा

धनगढी, २ असोज /   जेनजी आन्दोलन सेलाउन नपाउँदै प्रहरी कर्मचारीहरुको व्यापक सरुवा गरिएको छ। बुधवार सार्वजनिक सूचीमा देशभर ४८ जना प्रहरी उपरीक्षकहरू (एसपी)को सरुवा गरिएको हो भने ९० डीएसपीको पनि काज तथा सरुवा भएको छ। जेनजी पुस्ताको आन्दोलनपश्चात् अन्तरिम सरकार बनेपछि आईजीपी चन्द्रकुबेर खापुङको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको हो।

जसअनुसार सुदूरपश्चिमका विभिन्न कार्यालयमा कार्यरत र दरबन्दी रहेका एसपी र डीएसपीहरु पनि सरुवा तथा काजमा परेका छन्। जसअनुसार बागमती प्रदेश प्रहरी कार्यालय, गम्भीर अपराध अनुसन्धान शाखामा कार्यरत डीएसपी गौरव महतलाई दार्चुला पठाइएको छ। दार्चुलाबाट डीएसपी प्रकाश दाहाललाई भने जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ।

त्यसैगरी, महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन शाखामा कार्यरत डीएसपी देबेन्द्र कुमार मल्ललाई जिल्ला प्रहरी कार्यालय बर्दिया सरुवा गरिएको छ। उनको स्थानमा मिलन बस्नेत पठाइएका छन्। कैलालीको टीकापुर इलाका प्रहरी कार्यालयमा कार्यरत डीएसपी नविनराज बुढाथोकीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टङ्गाल मातहतमा सरुवा गरिएको छ। उनको स्थानमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रबाट प्रकाश डाँगी टीकापुर आइपुगेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट डीएसपी बरुणबहादुर सिंहलाई डडेलधुरा पठाइएको छ भने डडेलधुराका सुगन्ध श्रेष्ठलाई कर्णाली प्रदेश प्रहरी कार्यालय, अन्वेषण योजना शाखामा सरुवा गरिएको छ। त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साबाट एसपी गौतम मिश्रलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रवन्ध शाखा धनगढी पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत एसपी बिनोद शर्मालाई महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखामा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय डोटीमा भने कर्णाली प्रदेश प्रहरी कार्यालयबाट महेन्द्र नेपाल पठाइएका छन्।

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन शाखा धनगढीमा कार्यरत भुवनेश्वर प्रसाद साहलाई नेपाल प्रहरी विशेष सुरक्षा गण, जनकपुर धनुषा पठाइएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रवन्ध शाखा धनगढीमा दरबन्दी रहेका मनोहर प्रसाद भट्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ। उनी यस अगाडि पनि काजमा काठमाडौंमै कार्यरत थिए।

यस्तै एसपी हरिहरनाथ योगीलाई महेन्द्रनगरस्थित प्रदेश प्रहरी कार्यालयबाट प्रहरी प्रधान कार्यालय, जनसम्पर्क शाखा नक्सालमा काज सरुवा गरिएको छ। यस्तै यस अगाडि नै कैलालीमा नरेन्द्र चन्दलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट पठाइएको थियो भने कैलालीका तत्कालीन एसपी बाल नरसिंह राणा कैलाली कारागार घटनाको कारणले तानिएका थिए।