परिचयपत्र नभए सुदूरपश्चिमका नाकाबाट गर्न पाइँदैन आवतजावत

परिचयपत्र नभए सुदूरपश्चिमका नाकाबाट गर्न पाइँदैन आवतजावत Ramaroshan
२०८२ असोज ०२ गते
परिचयपत्र नभए सुदूरपश्चिमका नाकाबाट गर्न पाइँदैन आवतजावत

धनगढी । जेनजी आन्दोलनपछि सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकीलगायत नाकामा कडाइ गरिएको छ । भारतबाट नेपाल र नेपालबाट भारत जाँदा नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य देखाउनुपर्ने व्यवस्था गरिएको छ । जसकारण दसैँ मान्न घर फर्किंदै गरेका र सीमावर्ती बजारमा किनमेलका जाने नेपालीहरुलाई सास्ती थपिएको छ ।

सुदूरपश्चिमबाट हजारौंको संख्यामा मानिसहरु कामका लागि भारतका विभिन्न सहरमा पुग्छन् । कोही नजिकैको उत्तराखण्डमा काम गर्छन् भने कोही कालापहाड, रत्नागिरी, नयाँदिल्ली, मुम्बई र बैंग्लोरसम्म पुग्छन् । खुला सिमानाका कारण बर्सेनी कति मानिस भारत जान्छन् भन्ने सरकारसँग यकिन तथ्यांक नभए पनि यो संख्या करिब पाँच(छ लाखको हाराहारीमा रहेको अनुमान छ ।

देशमा रोजगारी नपाएपछि परिवार पाल्नकै लागि भारत पस्नु धेरैको बाध्यता रहेको बाजुराका स्थानीय भीम थापाले बताए । ‘देशमा केही गर्ने मन भए पनि रोजगार छैन । कामका लागि भारत नपसी सुखै छैन,’ उनले भने । पछिल्ला दिनहरूमा सीमानाकामा आवतजावतमा निकै कडाइ गरिएको छ । जेनजी आन्दोलन जस्ता आन्तरिक उथलपुथल होस् वा कोरोना महामारी जस्ता संकट सीमामा निगरानी बढाइन्छ । केही समयअघि नाका बन्द नै गरियो भने खुलेपछि पनि भारत जानका लागि त्यहाँको आधार कार्ड र नेपाल भित्रिन नेपाली नागरिकता वा सरकारले जारी गरेको परिचयपत्र अनिवार्य गरिएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार परिचय खुल्ने सरकारी कागजातविना नाकाबाट आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको छ । यो नियमले अनिवार्य साथमा नागरिकता वा सरकारी कागजात नबोक्ने कतिपय सर्वसाधारणलाई कठिनाइ पनि भएको छ । भारत जान लागेकी बझाङकी पार्वती बोहराले नाकामा लामो लाइन बस्नुपरेको र पहिलेभन्दा धेरै कडाइ भएको अनुभव सुनाइन् । परिचयपत्र नहुनेहरूलाई सीमाबाटै फर्काइने गरिएको छ । यसले अत्यावश्यक कामले ओहोरदोहोर गर्नेहरू मर्कामा परेका छन् । दसैँ९तिहार जस्ता चाडपर्व नजिकिँदै गर्दा सीमामा चहलपहल झनै बढेको छ ।

कोही चाडपर्व मनाउन घर फर्कंदैछन् भने कोही यही बेला कामको खोजीमा भारत पस्दैछन् । डोटीका राधेश्याम भट्टले धेरै नेपाली चाडपर्व मनाएर फेरि भारत फर्किने योजनामा रहेको सुनाए । नेपालीहरुकै कारण भारतीय सीमावर्ती बजारमा चहलपहल बढ्छ । भट्टका अनुसार अहिले नाकामा चेकजाँच निकै कडा गरिएकाले नागरिकता वा अन्य सरकारी प्रमाणपत्र अनिवार्य बोकेर हिँड्नुपर्छ । विगतमा सहजै आवतजावत हुने गौरीफन्टा नाकामा पनि अहिले परिचयपत्रविना ओहोरदोहोर गर्न पाइँदैन ।