धनगढीमा १८ हजार बढी इम्बोस नम्बर प्लेट जलेर खरानी

धनगढीमा १८ हजार बढी इम्बोस नम्बर प्लेट जलेर खरानी Ramaroshan
२०८२ असोज ०३ गते
धनगढीमा १८ हजार बढी इम्बोस नम्बर प्लेट जलेर खरानी

धनगढी । जेन-जी पुस्ताको आन्दोलनले यातायात कार्यालय, धनगढीमा ठूलो क्षति पुर्‍याएको छ । आन्दोलनकारीले लगाएको आगलागीका कारण १८ हजार एक सयभन्दा बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेट जलेर खरानी भएका छन् । करिब चार करोड ५२ लाख रुपैयाँ बराबरका इम्बोस नम्बर प्लेट नष्ट भएपछि कार्यालय वितरण कार्य सुरु गर्न नसक्ने अवस्थामा पुगेको छ ।

कार्यालयका प्रमुख भूवन जोशीका अनुसार असोज १ गतेदेखि इम्बोस नम्बर प्लेट वितरण गर्ने तयारी थियो तर आगलागीका कारण सम्पूर्ण तयारी ध्वस्त भएको हो । तीन दिनसम्म निरन्तर लागेको आगोले नम्बर प्लेट मात्र नभई करिब एक करोड ५० लाखभन्दा बढीका फर्निचर र उपकरणसमेत नष्ट भएका छन् ।

धनगढीमा पठाइएका नम्बर प्लेट गद्दा र बाकसमा राखिएकाले आगो तीन दिनसम्म निभाउन नसकिएको जनाइएको छ । आन्दोलनकारीहरूले भ्रष्ट्राचारको आरोप लगाउँदै सुरुमा नै इम्बोस नम्बर प्लेट रहेको गोदाममा आगो झोसेका थिए ।

यातायात कार्यालयले अन्य सेवा भने फेरि सञ्चालनमा ल्याएको छ तर इम्बोस नम्बर प्लेट वितरण कार्य भने अनिश्चितकालका लागि स्थगित भएको छ ।