धनगढीमा बालमन्दिरका बालबालिकालाई लुगा वितरण

धनगढीमा बालमन्दिरका बालबालिकालाई लुगा वितरण Ramaroshan
२०८२ असोज ०४ गते
धनगढीमा बालमन्दिरका बालबालिकालाई लुगा वितरण

धनगढी, ४ असोज / कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको बालमन्दिरका बालबालिकालाई सुदूरपश्चिम पूर्व राष्ट्र सेवक समाज कैलाली–धनगढीले लुगा वितरण गरेको छ।

समाजका अध्यक्ष दिपेन्द्र कुमार खड्काले आफ्नो पेन्सनबाट संकलन गरिएको केही रकममार्फत व्यक्तिगत पहलमा लुगा सहयोग गरिएको जानकारी दिए। उनले भने, “दशैं नजिकिँदै गर्दा यहाँ रहेका बालबालिकाले पनि नयाँ लुगा लगाउने चाहना राख्ने भएकाले सानै भए पनि सहयोग गरिएको हो।”

बालमन्दिरमा हाल २५ जना बालबालिका रहेका छन्। तीमध्ये धेरैजसो आमाबुबा दुवै गुमाएका टुहुरा रहेको उपाध्यक्ष बलदेव भट्टले जानकारी दिए। उनका अनुसार बालमन्दिरको व्यवस्थापन मुख्यतया सटर भाडा तथा मनकारी व्यक्तिहरू र संस्थाहरूको सहयोगमा भइरहेको छ।

भट्टले केही बालबालिका त्रिनगर माध्यमिक विद्यालयमा अध्ययनरत रहेको र उनीहरूलाई विद्यालयले निःशुल्क पढाइको व्यवस्था गरेको समेत बताए।