बैतडीकी बसन्तीले बाटामै शिशुलाई जन्म दिइन्

बैतडीकी बसन्तीले बाटामै शिशुलाई जन्म दिइन् Ramaroshan
२०८२ असोज ०४ गते
बैतडीकी बसन्तीले बाटामै शिशुलाई जन्म दिइन्

बैतडी, ४ असोज /  बैतडीमा एक महिलाले बाटोमै बच्चालाई जन्म दिएकी छिन् । जिल्लाको पुर्चोडी नगरपालिका –१० विजयपुर, गोरागाउँकी २२ वर्षीया बसन्ती विष्टले बाटोमा शिशुलाई जन्म दिएकी हुन् । बसन्तीको घर पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाको सिमानामा छ । बसन्ती डेलिभरीका लागि कटौजपानी स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमै शिशुलाई जन्म दिएकी हुन् ।

उनको सेवा क्षेत्र पुर्चौडीको विजयपुर स्वास्थ्य चौकी भए पनि घरबाट दोगडाकेदारको कटौजपानी स्वास्थ्य चौकी नजिक पर्ने भएकाले उनलाई त्यसतर्फ लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिएको कटोजपानी स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले बताइन् । बाटोमा प्रसव पीडा निकै भएछ,’ उनले भनिन्, स्वास्थ्य चौकी पुग्न १० मिनेट मात्र लाग्ने थियो । शिशुलाई जन्म दिइसकेपछि उनलाई स्वास्थ्य संस्थामा ल्याएर थप उपचार गर्‍यौं ।

अनमी जोशीका अनुसार बसन्तीले ३ केजी ४०० ग्राम तौलको शिशुलाई जन्म दिएकी हुन् । अहिले दुवैको स्वास्थ्य सामान्य रहेको स्वास्थ्य चौकीले जनाएको छ ।