‘कञ्चनपुर टी–ट्वान्टी क्रिकेट’ को दोस्रो संस्करण असोज १३ देखि सुरु हुने

‘कञ्चनपुर टी–ट्वान्टी क्रिकेट’ को दोस्रो संस्करण असोज १३ देखि सुरु हुने Ramaroshan
२०८२ असोज ०४ गते
‘कञ्चनपुर टी–ट्वान्टी क्रिकेट’ को दोस्रो संस्करण असोज १३ देखि सुरु हुने

धनगढी । कञ्चनपुर टी ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण असोज १३ गतेदेखि सुरु हुने भएको छ । गत वर्षबाट सुरु गरिएको प्रतियोगितालाई आयोजक शिद्धेश्वर जय पृथ्वी क्लबले यस वर्षमा पनि निरन्तरता दिने भएको हो ।

बेलौरी नगरपालिका १० शिव नगरमा हुने प्रतियोगिता असोज २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ । प्राय ः टेनिस बलबाट कञ्चनपुरमा क्रिकेट प्रतियोगिता हुने समयमा क्लबले भने लेदर बल मार्फत यो प्रतियोगिता आयोजना गर्दै छ ।

प्रतियोगिताको उद्देश्य अवसरको खोजीमा रहेका स्थानीय खेलाडीलाई प्रतिभा देखाउने अवसर दिनु रहेको खेल सञ्चालक समितिका संयोजक दीपक खड्काले बताए । उनका अनुसार प्रतियोगितामा जुनसुकै टिमले सहभागिता जनाउन सक्ने छन् । टाढाको टिमलाई बस्ने व्यवस्था मिलाइने छ ।

प्रतियोगितामा सहभागी हुने इच्छुक टिमका लागि दर्ता खुला गरिएको छ । असोज ११ गतेसम्म टिम दर्ता गराई सक्नु पर्ने छ । टिम दर्ता शुल्क १५ हजार राखिएको छ । यस वर्ष भने पुरस्कार रकम बढाइएको छ । प्रतियोगिताको विजेता टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताभरका उत्कृष्ट खेलाडीलाई ५ हजारसहित ट्रफी प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले ५ सय पाउने छन् ।

पहिलो सिजनको प्रतियोगिताको उपाधि मालिकार्जून हार्डवेयर प्रालि अत्तरियाले हात पारेको थियो भने धनगढीको सुप होस्टेल उपविजेतामा चित्त बुझाएको थियो । पहिलो सिजनको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागिता रहेको थियो । यस वर्ष पनि थुप्रै राष्ट्रिय खेलाडीहरूको उपस्थिति रहने आयोजकको विश्वास छ ।