मुग्लिन–नारायणगढ सडक आज बिहान ११ बजेसम्म खुलाउने गरी पहिरो पन्छ्याइदै

मुग्लिन–नारायणगढ सडक आज बिहान ११ बजेसम्म खुलाउने गरी पहिरो पन्छ्याइदै Ramaroshan
२०८२ असोज ०५ गते
मुग्लिन–नारायणगढ सडक आज बिहान ११ बजेसम्म खुलाउने गरी पहिरो पन्छ्याइदै

काठमाण्डौ, ५ असोज /  अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अहिले बिहान ११ बजेसम्म खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको छ । सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार अहिले पाँच वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ । बीचमा कुनै अवरोध नआएमा ११ बजेसम्म सडक सञ्चालन हुने उहाँको भनाइ छ ।

मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन समस्या भएको हो ।

सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय भरतपुरले यात्रुलाई वैकल्पिक बाटोको प्रयोग गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ ।