कञ्चनपुरमा जङ्गली हात्तीको आतंक : बस्ती रातभर जाग्राम, खेतीबाली सखाप

कञ्चनपुरमा जङ्गली हात्तीको आतंक : बस्ती रातभर जाग्राम, खेतीबाली सखाप Ramaroshan
२०८२ असोज ०५ गते
कञ्चनपुरमा जङ्गली हात्तीको आतंक : बस्ती रातभर जाग्राम, खेतीबाली सखाप

धनगढी । रातिको समयमा जङ्गली हात्तीको ठूलो बथान गाउँ पसेपछि कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका(३ बडुवाल टोलवासी दिनहुँ रातभर जाग्राम बस्न बाध्य भएका छन्।

दुधुवा राष्ट्रिय निकुञ्जतर्फबाट आउने हात्तीले खेतबारीमा धानसहितका अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय त्रासमा परेका हुन्। बडुवालका राम सुनारका अनुसार हात्तीको आतंकले उनको करिब साढे चार बिघा धान खेती सखाप भएको छ। “हरेक वर्ष हात्तीले अन्नबाली मात्र होइन, घरसमेत बिगार्ने गर्छ तर रोकथामका लागि कुनै प्रभावकारी कदम चालिएको छैन,” उनले दुःखेसो पोखे।

त्यस्तै स्थानीय सावित्री महताको खेतमा समेत हात्तीले नोक्सान पुर्याएको छ। उनका अनुसार ३०-४० वटा हात्तीको बथान बच्चासहित दैनिक बस्तीमा पस्ने गरेका छन्। “बालबच्चा जोगाउने कि अन्नबाली बचाउने भन्ने संकट हुन्छ, कहिलेकाहीँ घर भत्काउँछन्, हामी रातभर आगो बालेर जाग्राम बस्नुपर्छ,” उनले भनिन्।

हात्तीको निरन्तर आक्रमणले स्थानीयले खेती छाड्दै गएको र धेरै जग्गा बाँझो रहेको स्थानीयले बताएका छन्। मजदुरी गरेर खेती लगाउने तर अन्न भित्र्याउन नपाउने अवस्थाले उनीहरूलाई किनेर खानुपर्ने बाध्यता बढेको छ।

भारतसँग सीमा जोडिएको यो क्षेत्रमा तारबार गर्न भारतले अनुमति नदिँदा समस्या थप जटिल बनेको स्थानीयको गुनासो छ। हात्तीको आक्रमणले यसअघि कैयौँको ज्यान समेत लिइसकेकाले तत्काल स्थायी समाधान खोज्नुपर्ने आवाज उठेको छ।