बैतडीमा फरार कैदीमध्ये दुई जना मात्रै नियन्त्रण बाहिर

बैतडीमा फरार कैदीमध्ये दुई जना मात्रै नियन्त्रण बाहिर Ramaroshan
२०८२ असोज ०५ गते
बैतडीमा फरार कैदीमध्ये दुई जना मात्रै नियन्त्रण बाहिर

बैतडी।जेनजी पुस्ताको प्रदर्शनका क्रममा भदौ २४ गते राति भएको तोडफोड र आगजनीपछि बैतडी कारागारबाट भागेका ६२ जना कैदीबन्दी तथा थुनुवामध्ये दुई जना मात्रै हालसम्म नियन्त्रण बाहिर रहेका छन्।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार फरारमध्ये ६० जना कारागार फर्किएका छन्।

कसैलाई विभिन्न स्थानबाट पक्राउ गरी ल्याइएको छ भने केही आफैं सम्पर्कमा आएर कारागार फर्किएका हुन्। चार जनालाई भारतबाट पक्राउ गरेर ल्याइयो,” उनले बताए।

जिल्ला कारागार प्रमुख धारा भण्डारीका अनुसार फरार रहेका दुई जनाको खोजी कार्य प्रहरीमार्फत भइरहेको छ। उनका अनुसार संयुक्त सुरक्षा टोली परिचालन गरेर फरार कैदीलाई पक्राउ गर्ने प्रयास जारी छ।

जेनजी प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा कारागार भवन क्षतिग्रस्त भएकाले व्यवस्थापन गर्ने कार्य भइरहेको कारागार कार्यालयले जनाएको छ।पच्चिस जना बस्ने क्षमता भएको सो कारागारमा अहिले करिब तेब्बर कैदीबन्दी राखिँदा थप समस्या देखिएको प्रमुख भण्डारीले बताइन्।