सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरूले सामान्य सेवा दिन थाले
धनगढी, ६ असोज / जेनजी आन्दोलनपछि बन्द रहेका सुदूरपश्चिम प्रदेशका मन्त्रालयहरूले फेरि सेवा दिन थालेका छन्। आइतबारदेखि मन्त्रालयहरूले आंशिक रूपमा सामान्य सेवा सञ्चालनमा ल्याएका हुन्। मन्त्रालय र मातहतका कार्यालयहरू पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै केही समय लाग्ने भए पनि प्रदेशवासीलाई प्राथमिक सेवा उपलब्ध गराउने काम सुरु भएको हो।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा व्यापक तोडफोड र आगजनी भएपछि सुदूरपश्चिम प्रदेश सरकारका सबै कामकाज ठप्प भएका थिए। आन्दोलनकारीले प्रदेश सभा भवनदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय र कार्यालय भवनहरूमा आगजनी गर्दा दैनिक प्रशासनिक काम ठप्प भएको थियो। यसबीचमा नयाँ सरकार बनेसँगै क्षतिग्रस्त मन्त्रालय तथा कार्यालयहरूको सरसफाइ सुरु गरिएको हो। कार्यालय परिसरमा रहेको ध्वंसावशेष हटाउने, भौतिक संरचनाको मर्मत तथा रङरोगन गर्ने काम सम्पन्न भइसकेपछि प्रदेश सरकारले सामान्य सेवा प्रवाह अघि बढाएको हो।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सूचना अधिकारी जगदिश जोशीका अनुसार आइतबारदेखि मन्त्रालयहरूले नागरिकलाई प्राथमिक स्तरका सेवा दिन थालेका छन्। “हाल त सामान्य सेवा सुरु भएको छ। सरसफाइ र रङरोगन कार्य सम्पन्न भइसकेकाले बिस्तारै दैनिक कामकाज सहज बन्छ,” उनले जानकारी दिए।
आगजनीका कारण सबैभन्दा बढी क्षति मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयमा पुगेको छ। जोशीका अनुसार, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा रहेका ७ थान चारपांग्रे र १६ थान दुईपांग्रे सवारीसाधन पूर्ण रूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, ४१ थान कम्प्युटर, कार्यालयका फर्निचर, साथै महत्वपूर्ण कागजात पनि जलेर नष्ट भएका छन्। प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सचिवहरूले प्रयोग गर्ने सवारीसाधन समेत प्रयोग योग्य नभएको अवस्थामा पुगेको छ।
प्रदेश सरकार अहिले मन्त्रालय र मातहतका कार्यालयहरूमा भएको क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ। ठूलो भौतिक नोक्सानीकै बीच सरकारले सीमित स्रोत–साधन प्रयोग गरेर आवश्यक सेवा निरन्तरता दिने तयारी गरेको सूचना अधिकारी जोशीले बताए।

