शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैंपछि मात्रै सफारी सुरु हुने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैंपछि मात्रै सफारी सुरु हुने Ramaroshan
२०८२ असोज ०६ गते
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैंपछि मात्रै सफारी सुरु हुने

धनगढी, ६ असोज /  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला गर्ने उद्देश्यले बाटोको सफाइ सुरु गरिएको छ । बर्खायामका बेला भएका खाल्डाखुल्डी पुर्ने र घाँसपात सफा गर्ने काम भइरहेको निकुञ्ज प्रशासनले बताएको छ । निकुञ्जको प्रवेशद्वार मझगाउँदेखि रानीताल हुँदै घाँसे मैदान र घाँसे मैदानदेखि बर्कौला हुँदै मझगाउँसम्मको बाटो सफाइ तथा मर्मत भइरहेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले बताए ।

‘बाटो वरपरको घाँस काट्ने र खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ,’ संरक्षण अधिकृत वाग्लेले भने, ‘बर्खायाममा बाढीले भत्काएका काठे पुलको पनि मर्मतको काम गरिरहेका छौं ।’ बर्खायामका बेला विभिन्न नदी र खोलामा आएको बाढीले काठे पुल भत्काएको मात्र छैन, बगाएको पनि छ ।

अहिले पनि हरेक दिन नियमित रूपमा बर्खा भइरहेको छ, जसका कारण सफारी गर्ने बाटोको हिलो कम भएको छैन । यसले गर्दा पनि सरसफाइ र मर्मतमा समस्या भएको वाग्लेको भनाइ छ ।

‘तत्काल सफारी खुलाउन सकिने अवस्था छैन, अब दसैंपछि मात्रै सफारी पुनः सुरु गर्न सकिने देखिन्छ,’ वाग्लेले भने, ‘शुक्लाफाँटा घाँसे मैदान क्षेत्रमा बाटो धेरै बिग्रेको छ, त्यहाँ सामान्य मर्मतले हुँदैन, माटो र ग्राभेल नै हाल्नुपर्ने देखिएको छ ।’ शुक्लाफाँटा घाँसे मैदान क्षेत्रको बाटोमा घाँस भरिएको छ भने कतै ठूल्ठूला खाल्डा भएका छन् ।

दसैं र तिहारको बीचको समयलाई घुमफिरको सिजनका रूपमा लिइन्छ । परदेश तथा स्वदेशमै भएकाहरू पनि बिदामा घर फर्किएका बेला परिवारसहित घुमफिर गर्ने भएकाले यो बेला सफारी खोल्न सके अझ बढी पर्यटक भित्र्याउन सकिन्छ । ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा घाँसे मैदान निकुञ्जको प्रमुख आकर्षण हो । यो बाह्रसिंगाको बासस्थान पनि हो । घाँसे मैदानमा ठूलो झुन्डमा बाह्रसिंगा देख्न पाइन्छ ।