फरार कैदीबन्दी अझै आएनन् सम्पर्कमा

फरार कैदीबन्दी अझै आएनन् सम्पर्कमा Ramaroshan
२०८२ असोज १२ गते
फरार कैदीबन्दी अझै आएनन् सम्पर्कमा

 धनगढी । जेनजी समूहको आन्दोलनका क्रममा कञ्चनपुरका कारागारबाट निस्किएका कैदीबन्दीमध्ये १३२ कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन् । गत भदौ २४ गते साँझ कञ्चनपुर कारागारबाट निस्किएका झन्डै ४५० कैदीबन्दीमध्ये १३२ कैदी अझै फरार छन् भने ३४४ कैदीबन्दी फिर्ता भएका छन् । 

कञ्चनपुर कारागार कार्यालयका निमित्त जेलर रामदत्त जोशीका अनुसार कारागारबाट निस्किएका कैदीबन्दीमध्ये कर्तव्य ज्यान मुद्दा, जबरजस्ती करणी, चोरी, ज्यान मार्ने उद्योग, लागुऔषधसम्बन्धी मुद्दाका अत्यधिक कैदीबन्दी अझै फरार छन् ।

कारागारबाट निस्किएका कैदीमध्ये जबरजस्ती करणी उद्योगका ३८, कर्तव्य ज्यान मुद्दाका १४ रज्यान मार्ने उद्योगका चार जना अझै फरार छन् । जबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दाका अत्यधिक कैदी बन्दी फरार भएपछि समाजमा असुरक्षासमेत छ । स्थानीयले जघन्य अपराध मुद्दाका कैदीलाई प्रशासनले नियन्त्रणमा लिनुपर्ने बताउँदै आएका छन् । यसै गरी लागुऔषध मुद्दाका ४१ जना, बैङ्किङ कसुरका तीन जना, मानव बेचबिखन मुद्दामा कैद भोगिरहेका छ जना, चोरी मुद्दामा १५ जना, वनसम्बन्धी मुद्दाका दुई जना अझै फरार रहेको कञ्चनपुर

कारागार प्रशासनले जनाएको छ । कार्यालयका अनुसार अभद्र व्यवहार मुद्दामा एक जना, आपराधिक लाभ र उपद्रोमा दुई जना, विविधमा तीन जना, सवारी ज्यानमा एक जना, कुटपिटमा एक जना गरी १३२ कैदी फरार छन् । यसअघि कारागारको सम्पर्कमा रहेका कैदी फिर्ता आएको निमित्त जेलर जोशीले बताउनुभयो तर फरार रहेका कैदीबन्दी भने कार्यालयको सम्पर्कमा नरहेको उहाँले बताउनुभयो । फरार रहेका कैदीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले जिल्लास्थित मातहतका प्रहरी कार्यालयलाई कैदीको फोटोसहित खोजी गर्न लगाइएको बताउनुभयो । कैदीबन्दीलाई खोजेर नियन्त्रणमा लिने कार्य भइरहेको प्रहरीले जनाएको छ ।