खानेपानीको बक्यौता रकम साढे सत्तरी लाख
धनगढी । नेपाल खानेपानी संस्थान शाखा कार्यालय महेन्द्रनगरको बक्यौता रकम ७० लाख रुपियाँ नाघेको छ । ग्राहकले समयमै तिर्नुपर्ने महसुल नबुझाएपछि संस्थानको बक्यौता ७० लाख ५६ हजार ६१३ रुपियाँ पुगेको हो । महेन्द्रनगरस्थित मदनचोकमा विसं २०५६ देखि सञ्चालनमा आएको सो शाखा कार्यालयले चार वर्षभन्दा पहिलेबाट सो बक्यौता असुल नभएको जनाएको छ ।
चार हजार एक सय ग्राहक सङ्ख्या रहेको संस्थानको एक हजार छ ग्राहकले समयमै महसुल नबुझाउँदा बक्यौता बढ्दो व्रmममा रहेको सूचना अधिकारी धर्मराज पाण्डेले बताउनुभयो । उहाँका अनुसार भीमदत्त नगरपालिकास्थित ५४ सरकारी कार्यालयबाट मात्रै १३ लाख सात हजार महसुल उठ्न बाँकी रहेको छ । महेन्द्रनगरस्थित भीमदत्त नगर विकास समितिमा खानेपानी संस्थानका छ धारा जडान गरिएका छन् तर हालसम्म नगर विकास समितिले खानेपानीको महसुल भने बुझाएको छैन । संस्थान कार्यालयका अनुसार नगर विकास समितिबाट मात्रै हालसम्म झन्डै तीन लाख ५० हजार रुपियाँ बक्यौता बाँकी छ ।
यस्तै गरी एक धारा जडान गरिएको भीमदत्तस्थित पौष्टिक आहार केन्द्रले एक लाख पाँच हजार, नेपाल रेडव्रmस सोसाइटी कञ्चनपुरले ५२ हजार रुपियाँ खानेपानीको महसुल बुझाउन बाँकी छ । यसै गरी जिल्ला खेलकुद विकास समिति, जडीबुटी उद्यान केन्द्र, बाल पुस्तकालय, बाल सङ्गठनलगायतले खानेपानीको महसुल तिरेका छैनन् ।
जिल्लास्थित ५४ सरकारी कार्यालयले विगत पाँच वर्षपहिलादेखि नै महसुल नबुझाएको सूचना अधिकारी पाण्डेले बताउनुभयो ।
खानेपानी संस्थान शाखा कार्यालय महेन्द्रनगरका निमित्त प्रमुख विजय श्रेष्ठले सरकारी कार्यालयमा खानेपानीका लागि छुट्टै बजेट छुट्टाइने गरे पनि महसुल नबुझाएका बताउनुभयो । खानेपानीको महसुल तिर्नका लागि पटक पटक ताकिता गरे पनि यहाँस्थित सरकारी, गैरसरकारी सङ्घ संस्था तथा उपभोक्ताले महसुल बुझाउन अटेरी गर्दा बक्यौता रकम बढ्दै गएको उहाँले बताउनुभयो । समयमै महसुल बुझाउन उनीहरूलाई भेटेरै आग्रह गरिएको उहाँले बताउनुभयो ।
तीन महिनासम्म पनि महसुल नबुझाए खानेपानीको लाइन काट्न सकिने व्यवस्था रहे पनि कञ्चनपुरस्थित शाखा कार्यालयले हालसम्म कसैको लाइन काटेको छैन । पानी आधारभूत आवश्यकता भएकाले लाइन भने काट्न नसकिएको निमित्त प्रमुख श्रेष्ठले बताउनुभयो । संस्थानले भीमदत्तस्थित ९५२ निजी क्षेत्रबाट झन्डै ५७ लाख ४९ हजार महसुल उठाउन बाँकी छ तर बक्यौता नबुझाएकाले जमिन बिव्रmी गरेपछि भने नयाँ घरधनी बक्यौता बुझाउनका लागि आउने गरेको कार्यालयले जनाएको छ ।

