कैलालीका सीमा नाकामा चेकजाँचमा कडाइ
धनगढी ।कैलालीका सीमानाकाहरुमा कडाइ गरिएको छ । चाडपर्वका बेला हुने मानिको भीडभाडलाई मध्यनजर गर्दै कैलाली प्रहरीले सीमानाकामा कडाइ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सीमा क्षेत्रमा हुनसक्ने विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसारलाई ध्यानमा राखेर जाँचमा कडाइ गरिएको बताए । उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कुकुर शाखासँगको समन्वयमा सीमा नाकासहित बढी भिडभाड हुने बसपार्क लगायतका क्षेत्रमा चेकजाँचमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिरहेको बताए ।
चाडपर्वको अवसरमा हुने भीडभाडका समयमा विभिन्न घटनाहरु घट्ने भएकाले चेकजाँचमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । भारतसँग सीमा जोडिएका र मानिसहरूको भिडभाड बढी हुने सार्वजनिक स्थानमा चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार चेकजाँच बढाईएको हो । जसमा प्रहरीले सुरक्षाकर्मी बढाएको छ भने चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग समेत गरिरहेको छ ।
कैलालीमा चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत जिल्लाभर १ हजार १ सय बढी प्रहरी परिचालन गरिएको छ । सीमा नाका, बसपार्कलगायतका क्षेत्रमा यात्रुलाई मध्यनजर गर्दै नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ । सुदूरपश्चिममा रोजगारीको सिलसिलामा भारत गएकाहरू दशै मनाउन घर फर्किने भएकाले सीमा नाकाहरूमा चहलपहल बढेको छ ।

