बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न,चार सय बढी पशुको बलि दिइयो
धनगढी । बैतडीका प्रसिद्ध शक्तिपीठ मध्येको निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ।दशरथचन्द नगरपालिका(२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा हिजोदेखि जात्रा शुरु भएको हो।
घटस्थापनाका दिनदेखि नित्य पूजाआराधना हुँदै आएको मन्दिरमा हिजोदेखि जात्रा शुरु भइ आज महाष्टमीका दिन बलिसहित जात्रा समापन भएको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए।
आज २६० रागाँ र १ सय ५० बढी बोकाको बली दिइएको भण्डारे बोहराले बताए।यो बर्ष चौथी तिथि वृद्धि भएकाले नवरात्रको आठौं दिन महासप्तमी परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
सोही अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा पनि आज महाष्टमी मानिएको बोहराले बताए।निङ्गलाशैनी भगवती मन्दिरमा महासप्तमीका दिन बलिका लागि राँगा बाँध्ने र महाष्टमीका दिन राँगाको बलि दिने प्रचलन रही आएको छ।
हरेक बर्ष शरदीय नवरात्रको महासप्तमी र महाष्टमीको दिन निङ्गलाशैनी भगवती मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मन्दिरमा पुगि दर्शन गरेका छन् ।
नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थीहरु आएका भण्डारे बोहराले बताए।निङ्गलाशैनी भगवती मन्दिरमा बर्षको चार पटक जात्रा लाग्ने गर्दछ।असोजको महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने गर्दछ।
मंसिर शुक्ल पूर्णिमा अर्थात धान्य पूर्णिमा र भाद्र शुक्ल चतुर्दशी अर्थात अनन्त चतुर्दशीका दिन यो मन्दिरमा जात्रा लाग्ने गर्दछ।यो बेलाको जात्रामा भने बलि दिने चलन नरहेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।

