आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे Ramaroshan
२०८२ असोज १६ गते
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं।नेपालीहरूको महान् चाड विजयादशमी आज आफन्त तथा मान्यजनका हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी देशभर मनाइँदै छ।घटस्थापनाका दिन स्थापना गरिएको घटको जमरा देवी दुर्गाको प्रसादस्वरूप मान्यजनका हातबाट ग्रहण गर्ने परम्परा रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार दशैं आफैंमा शुभ दिन भएकाले सर्वसाधारणका लागि टीका थाप्न साइत हेर्नु नपर्ने मान्यता छ।तर, राज्य सञ्चालकका लागि भने यस वर्ष बिहान ११ बजेर ५३ मिनेटमा उत्तम साइत तोकिएको छ।

समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार टीका लगाउनुअघि दुर्गा विसर्जन अनिवार्य छ।

बिहान ९ बजेर २३ मिनेटमा देवी विसर्जनको साइत तोकिए पनि घरबाट चाँडै निस्किनुपर्ने अवस्थामा झुल्के घाममै दुर्गा विसर्जन गरेर टीका लगाउन सकिने बताइएको छ।

धार्मिक परम्परा अनुसार देवी विसर्जनपछि कलशको जल घरका विभिन्न ठाउँमा छर्किने र कुलदेवता तथा पितृदेवताप्रति टीका(जमरा अर्पण गरेपछि मात्र आफन्त र मान्यजनबाट टीका थाप्ने प्रचलन छ।

टीका लगाउँदा दिने व्यक्ति पश्चिमतर्फ र लिने व्यक्ति पूर्वतर्फ फर्कनुपर्ने विधि समेत समितिले स्पष्ट पारेको छ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले टीका-जमरा ग्रहण गर्दा सामान्य मानिसले साइत कुर्नुपर्ने आवश्यकता नरहेको समितिका सदस्य डा।वासुदेव कोइरालाले बताए।

तर राज्य सञ्चालनमा संलग्न व्यक्तिले भने उत्तम साइतमै टीका थाप्नुपर्ने शास्त्रीय मान्यता रहेको उनको भनाइ छ।

दशैं पर्व कोजाग्रत पूर्णिमासम्म चल्ने र सोही दिन महालक्ष्मीको व्रत गरेर समापन हुने धार्मिक मान्यता छ।नेपाल मात्र नभई विदेशमा रहेका नेपालीहरूले पनि एकआपसमा भेला भई दशैं मनाउने गरेका छन्।