दशैँको उल्लासभन्दा देशको चिन्ता, सहिदका सपना पूरा गर्न एकताबद्ध हुन विप्लवको आह्वान

दशैँको उल्लासभन्दा देशको चिन्ता, सहिदका सपना पूरा गर्न एकताबद्ध हुन विप्लवको आह्वान Ramaroshan
२०८२ असोज १६ गते
दशैँको उल्लासभन्दा देशको चिन्ता, सहिदका सपना पूरा गर्न एकताबद्ध हुन विप्लवको आह्वान

धनगढी। यस वर्षको दशैँ नेपालभर सामान्य भन्दा फरक माहोलमा मनाइँदैछ। विगतका दशैँमा घर–घरमा मखमली र सयपत्रीका फूलसहित खुसी छाउने परम्परा रहँदै आएको भए पनि यसपटक भने नागरिकको मनमा उत्साहभन्दा बढी पीडा, असन्तोष र चिन्ता छाएको देखिन्छ।

हालैको जेनजी विद्रोह र त्यस क्रममा बलिदान भएका सहिदहरूको सम्झनाले नागरिकको मन दशैँको झिलिमिलीभन्दा बढी प्रतिरोध र परिवर्तनप्रतिको संकल्पतर्फ मोडिएको छ। न्याय, समान अवसर, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने सपना अधुरै रहेका कारण दशैँ उत्सवभन्दा बढी चिन्ताको विषय बनेको जनाइएको छ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशवासीलाई दशैँको शुभकामना दिँदै सहिदहरूको सपना पूरा गर्ने दिशामा एकताबद्ध हुन आग्रह गरेका छन्। उनले भने,

“प्रिय देशवासी, आफ्नो संस्कृतिमा हामी जसरी एक भएका छौँ, भ्रष्टाचार, दलाल र साम्राज्यवादविरुद्ध पनि त्यत्तिकै एक भएर देशलाई साँच्चिकै निकास दिन अगाडि बढ्नुपर्छ।”

विप्लवले दशैँले दिने शक्ति र आस्थालाई सहिदहरूको सपना साकार पार्ने आन्दोलनमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार पर्वले दिने उत्साहलाई रमाइलोमा मात्र सीमित नगरी परिवर्तन र न्यायको संकल्पमा परिणत गर्न सक्नुपर्ने बेला आएको छ।

देशमा दशैँको उल्लाससँगै सहिदका बलिदान, जेनजी विद्रोहमा ढलेका युवाहरूको सपना र अधुरो न्यायप्रतिको आकांक्षा मिसिएर गहिरो अर्थ बोकेको छ। नागरिकहरूमा फैलिएको यही चेतना र राजनीतिक दलहरूको प्रति असन्तोषले यो दशैँलाई विशेष बनाएको छ।