जिल्ला प्रशासन कैलालीद्वारा उच्च सतर्कता अपनाउन आग्रह गर्दै ६ बुँदे निर्देशन
धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले असोज १७ देखि २० गते सम्म मनसुन सक्रिय रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार एक सूचना जारी गर्दै प्रशासनले जल तथा मौसम विज्ञान विभागबाट प्राप्त जानकारी अनुसार मनसुन सक्रिय रहने अनुमान गरिएको सो अवधिमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना प्रबल रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रशासनले वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी–नाला तथा स–साना खोलामा पानीको बहाव वृद्धि हुने जस्ता प्राकृतिक विपद्जन्य जोखिमहरूको पूर्वानुमानका आधारमा आवश्यक सतर्कता अपनाई जनजीवन, सार्वजनिक तथा निजी सम्पत्तिमा पर्न सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने प्रयोजनका लागि ६ बुँदे निर्देशन जारी गरेको छ । जसमा अत्यावश्यक कार्य बाहेक घरबाट टाढा यात्रा नगर्न र विशेषतः रात्रिकालीन आवतजावत नगर्ने, नगराउने, पहिरो जोखिमयुक्त क्षेत्र तथा नदी किनारका बस्तीहरूमा विशेष सतर्कता अपनाउने, डुबान तथा जोखिमयुक्त बस्तीका बासिन्दाहरूले आवश्यकता अनुसार अग्ला सुरक्षित स्थानको जानकारी लिई अरूलाई पनि दिने र आवश्यक परे तुरुन्त सुरक्षित स्थानमा जाने उल्लेख छ ।
यस्तै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने, सडक डिभिजन कार्यालय तथा स्थानीय तहहरूले जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्स्काभेटर लगायतका साधन तयारी अवस्थामा राख्ने र मौसमी अवस्थासम्बन्धी अनिवार्य रूपमा बुझेर मात्रै यात्रा गर्न भनिएको छ ।
यी हुन ६ बुँदा
उक्त अवधिमा अत्यावश्यक कार्य बाहेक घरबाट टाढा यात्रा नगर्नुहुन र विशेषतः रात्रिकालीन आवतजावत नगर्ने–नगराउने ।
पहिरो जोखिमयुक्त क्षेत्र तथा नदी किनारका बस्तीहरूमा विशेष सतर्कता अपनाउने ।
डुबान तथा जोखिमयुक्त बस्तीका बासिन्दाहरूले आवश्यकता अनुसार अग्ला सुरक्षित स्थानको जानकारी लिई अरूलाई पनि दिने र आवश्यक परे तुरुन्त सुरक्षित स्थानमा जाने।
सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहने ।
सडक डिभिजन कार्यालय तथा स्थानीय तहहरूले जोखिमयुक्त राजमार्ग र सडकमा तुरुन्त परिचालन हुने गरी डोजर, एक्स्काभेटर लगायतका साधन तयारी अवस्थामा राख्ने ।
मौसमी अवस्थासम्बन्धी सूचनाहरू विभिन्न जिल्लाबाट समेत निरन्तर सम्प्रेषण भइरहेको ब्यहोरा अवगतै छ । अतः यस जिल्लाबाट पूर्वतर्फ यात्रा गर्नुहुने यात्रु, सवारी साधन चालक, यातायात व्यवसायी संघ र संस्था तथा सरोकारवालाहरूले सम्बन्धित निकायबाट जारी हुने सूचनासँगै आगामी तीनदेखि चार दिनको मौसम पूर्वानुमानलाई अनिवार्य रूपमा बुझेर मात्र यात्रा गर्ने र गराउने ।


