मुख्यमन्त्री कार्यालयमा साढे नौ करोडको क्षति

मुख्यमन्त्री कार्यालयमा साढे नौ करोडको क्षति Ramaroshan
२०८२ असोज १९ गते
मुख्यमन्त्री कार्यालयमा साढे नौ करोडको क्षति

धनगढी। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आगजनी र तोडफोड हुँदा साढे नौ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । 

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आन्दोलनकारीले आगजनी र तोडफोड गरेका थिए । आगजनीबाट आठ करोड ४१ लाख ८६ हजार, तोडफोडबाट ७६ लाख ८० हजारको क्षति भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । यस्तै, फेला नपरेको वा लुटपाटबाट ५५ लाख ८४ हजार रुपियाँ बराबरको क्षति भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । 

छ करोड ७५ लाख रुपियाँ बराबरका सवारी साधन जलेर नष्ट भएको मुख्यमन्त्री कार्यालयका प्रवक्ता एवं उपसचिव नवराज ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार सात जिप र १३ मोटरसाइकल जलाइएको थियो । त्यसै गरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका विभिन्न सामग्री पनि जलाइएको थियो । 

कार्यालयको तीनवटै भवनमा आगजनी भई झ्याल, ढोका, कार्पेट, मार्बल, फल सिलिङ पार्केटिङ लगायतका सामान जलेर नष्ट भएको जनाइएको छ । कार्यालय परिसरमा रहेको प्रहरी पोस्ट र प्रहरी क्वाटरमा आगजनी गरिएको थियो । सम्पत्ति विवरण र कार्य सम्पादन मूल्याङ्कन फाराम तथा अन्य सरकारी कागजात अधिकांश जलेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जानकारी दिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा रहेको प्रमुख सचिवकोे सरकारी निवासमा तोडफोड, जिन्सी शाखामा मौज्दात रहेका र अन्य महाशाखामा रहेका अधिकांश मसलन्दका सामान जलेर नष्ट भएको प्रवक्ता ओझाले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१/८२ जिन्सी निरीक्षणमा लिलाम, मर्मत तथा मिनाहामा औँल्याइएका अधिकांश सरसामान जलेर नष्ट भएको जनाइएको छ ।