कञ्चनपुरबाट लामो दुरीको बस सञ्चालन बन्द

कञ्चनपुरबाट लामो दुरीको बस सञ्चालन बन्द Ramaroshan
२०८२ असोज १९ गते
कञ्चनपुरबाट लामो दुरीको बस सञ्चालन बन्द

धनगढी। लगातार वर्षाका कारण कञ्चनपुरबाट चल्ने लामो दुरीका सार्वजनिक यातायात सेवा बन्द गरिएको छ।अबिरल वर्षाले देशका धेरै ठाउँमा बाढी र पहिरोको जोखिम बढेपछि सरकारले लामो दुरीको यात्रामा रोक लगाएको हो।

त्यसपछि महाकाली यातायात प्रालि, पवनदूत यातायात प्रालि र नमस्ते शुक्लाफाँटा यातायात प्रालिले महेन्द्रनगरबाट काठमाडौं, पोखरा र पूर्वी नेपालका लागि छुट्ने बस सेवा रोकेका छन्।

महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरदत्त पन्तका अनुसार मौसम सुधारिएर सडकहरू सामान्य अवस्थामा फर्किएपछि मात्रै सेवा पुनः सुरु गरिनेछ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि केन्द्रको निर्देशनअनुसार लामो दुरीको सवारी सञ्चालन नगर्न र सतर्क रहन व्यवसायीहरूलाई आग्रह गरेको छ।प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले यात्रु र चालक दुवैको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताए।

मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म भारी वर्षाको सम्भावना रहेको जनाउँदै आवश्यक नपरेसम्म यात्रा नगर्न अनुरोध गरेको छ।

वर्षाले सडक अवरुद्ध हुँदा दशैं मनाएर फर्किने यात्रुहरू बाटोमै अलपत्र परेका छन्।यातायात व्यवसायीहरूले ती यात्रुहरूको लागि वैकल्पिक व्यवस्था मिलाउने आश्वासन दिएका छन्।

सरकारले वर्षाका कारण जनजीवन प्रभावित भएकाले आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।