बाजुराको डाब खप्तड पर्यटकीय सडक विगत १६ वर्षदेखि कालोपत्रेको पर्खाइमा

बाजुराको डाब खप्तड पर्यटकीय सडक विगत १६ वर्षदेखि कालोपत्रेको पर्खाइमा Ramaroshan
२०८२ असोज २० गते
बाजुराको डाब खप्तड पर्यटकीय सडक विगत १६ वर्षदेखि कालोपत्रेको पर्खाइमा

 धनगढी । बाजुराको डाब खप्तड पर्यटकीय सडक विगत १६ वर्षदेखि कालोपत्रेको पर्खाइमा रहेको छ । डाब बजारदेखि खप्तडसम्मको झन्डै २६ किलोमिटर यो सडकको २०६६ सालदेखि निर्माण कार्य सुरु भएको थियो । बुढीगङ्गा नगरपालिका–१० को डाब बजार हुँदै बदेडा, सेलापाखा, पिपलगाउँ, जुवापानी हुँदै खप्तड छेडेदह गाउँपालिका–२, गाँज्रा हुँदै १ को काँडासम्म सडक पुगेको छ । यहाँदेखि झन्डै १२ किलोमिटरभन्दा बढी खप्तड पुग्न लाग्छ । त्यहाँसम्म भने अझै सडक निर्माण गर्न बाँकी रहेको छ । डाब खप्तड पर्यटकीय सडकले पर्यटकलाई मात्र सहज नभई बुढीगङ्गा र खप्तड छेडेदहलगायतका स्थानीयवासीलाई समेत निकै सहज बनाएको छ । 

सडक निर्माण भएपछि यहाँका स्थानीयवासीले गाउँमा उत्पादन गरेको तरकारी तथा फलफूल जस्ता वस्तुलाई बजार पु¥याउन केही सहज भएको थियो तर बर्खाको समय यो सडक धेरै ठाउँमा भत्किने, पहिरो जाने गरेकाले त्यतिबेला उनीहरूलाई सामान ढुवानी त के आफैँलाई समेत हिँड्डुल गर्नसमेत निकै सास्ती हुने गरेको छ । गाउँमा स्याउ, सुन्तला, मार्सो, कोदो, फापर, आलु ओखरलगायत विभिन्न तरकारी तथा फलफूल उत्पादन हुन्छ तर सडक अलपत्र हुँदा ती वस्तु बजारसम्म पु¥याउन निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका–१, सिग्राका पुरनबहादुर रावलले बताउनुभयो । 

यहाँका स्थानीयवासीलाई आफ्नो उत्पादन बिक्री गर्न निकै कठिनाइ छ । गाउँमा गाडी आउँदैन । बोकेर बजार लान सकिँदैन । सडकको यस्तो हालत भएको छ । यहाँका अधिकांश महिलाले पिठ्युँमा बोकेर पनि डाब बजार, मालिका, रिठा बेतालमाण्डौँ  बाम्कालगायतका बजारमा आफ्नो उत्पादन बिक्री गर्ने गरेको रावलले बताउनुभयो ।

२०६६ साल वैशाखदेखि यो सडक निर्माणको काम सुरु गरेको हो । यो सडक झन्डै पाँच वर्षपछि काँडासम्म मात्र पुगेको छ । त्यसपछि खप्तडमा सडक लान कुनै पहल भएको छैन । यसका लागि हामीले धेरै निकायसँग कुरा राखेका हौँ तर कहीँकतैदेखि यसको सुनुवाइ नभएपछि अहिले यो सडक बेहाल अवस्थामा रहेको खप्तड छेडेदह गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रावलले बताउनुभयो ।

उहाँले जिल्लाका बडीमालिका कालाजाग्रा बुढीनन्दा जस्तै यो खप्तड पनि पर्यटकीय स्थलका रूपमा रहेको बताउनुभयो । यसको संरक्षण तथा प्रवर्धन भने अझै हुन सकेको छैन । झन्डै २६ किलोमिटर रहेको यो सडकको निर्माण कार्यमा २० करोड रुपियाँ खर्च भइसक्यो । सडक ठाउँमा पुगेको छैन । कच्ची रूपमा निर्माण गरेको सडक पनि कालोपत्रे भएको छैन भन्नुभयो ।

सडक कालोपत्रे हुने हो भने यहाँका स्थानीयवासीले रोजगारीका लागि भारतका विभिन्न ठाउँमा भौँतारिनुपर्ने थिएन । यहाँ अर्गानिक फलफूल तथा खाद्यान्न राम्रो उत्पादन हुन्छ । बर्खाको समय बाटो नभएकाले त्यो बजारसम्म लान सकिँदैन । त्यसैले यो सडक कालोपत्रे हुने हो भने यहाँका स्थानीयवासीले आफूले उत्पादन गरेको तरकारी तथा फलफूल जस्ता वस्तुबाट नै जीविकोपार्जन गर्न सक्ने रावलले बताउनुभयो ।