हमासले बन्धक बनाएका सबैको रिहाइको अन्तिम तयारी, विपीन जोशीको अवस्था भने अज्ञात

हमासले बन्धक बनाएका सबैको रिहाइको अन्तिम तयारी, विपीन जोशीको अवस्था भने अज्ञात Ramaroshan
२०८२ असोज २५ गते
हमासले बन्धक बनाएका सबैको रिहाइको अन्तिम तयारी, विपीन जोशीको अवस्था भने अज्ञात

काठमाण्डौ  : प्यालेस्टिनी विद्रोही समूह हमासले दुई वर्ष अघि इजरायलबाट अपहरण गरेर बन्धक बनाएका मध्ये बाँकी सबै बन्धक रिहाइको अन्तिम तयारी भइरहँदा नेपालका विपीन जोशीको अवस्था भने अज्ञात रहेको छ ।

हमास स्रोतलाई उद्धृत गर्दै बीबीसी, सीएनएन लगायतका अन्तराष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको विवरण अनुसार अपहरणमा परेका मध्ये विपीन जोशीसहित दुई जनाको अवस्था अज्ञात रहेको हो । बीबीसीका अनुसार हमासले इजरायलमा आक्रमण गर्दा अपरहणमा परेका मध्ये ४८ जना बन्धक रिहाइ हुन बाँकी छ । उनीहरु मध्ये २० जना जिवित रहेका छन् । २६ जनाको ज्यान गइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जिवित बन्धक र मृतकको अवशेष सोमवारसम्ममा हमासले इजरायलको जिम्मा लगाउने बताउनुभएको छ । अमेरिका, इजिप्ट र कतारका मध्यस्थतामा इजिप्टको शर्म एल–शेखमा भएको वार्तामा गाजामा युद्धविराम गर्ने सहमति भएको हो ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौता शुक्रवार बिहानदेखि लागू भएपछि इजरायली सेनाले गाजाका केही भागबाट आफ्ना सेना फिर्ता गरेको बताएको छ । अहिले हजारौँ प्यालेस्टिनीहरू गाजाको उत्तरतिर गइरहेका बीबीसीले जनाएको छ । यस्तै संयुक्त राष्ट्रसङ्घले युद्धविरामपछि गाजाका सबै बासिन्दाका लागि तीन महिनालाई पुग्ने खाद्यन्न गाजामा पुर्‍याएकाे जनाएको छ ।