इजरायली अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

इजरायली अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी Ramaroshan
२०८२ असोज २७ गते
इजरायली अधिकारीले दिए विपिन जोशी जीवित नरहेको जानकारी

काठमाडौँ। इजरायली अधिकारीले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको जानकारी दिएका छन्। आज बिहान (स्थानीय समय अनुसार)साढे ७ बजे विपिनको अवस्थाबारे औपचारिक जानकारी दिइएको हो।

इजरायली डिफेन्स फोर्स ९आईडीएफ० का एक वरिष्ठ अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका दाजु किशोर जोशी, र इजरायलका प्रधानमन्त्री कार्यालयका दुई अधिकारीलाई भिडियो कन्फरेन्समार्फत जोडेर यो जानकारी दिएका हुन्।

राजदूत पण्डितले टेलिफोनमार्फत भने,“आईडीएफका अधिकारीले हामीलाई औपचारिक रूपमा भने — ‘विपिन इज नो मोर।’”

कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल पुगेका थिए।

गत वर्ष अक्टोबर ७, २०२३ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए, जबकि विपिनलाई हमास लडाकुहरूले साथमै लगेका थिए।

नोभेम्बर १७, २०२३ मा विपिनलाई अन्तिम पटक गाजाको अल शिफा अस्पतालमा देखिएको थियो। त्यसपछि उनको अवस्था अज्ञात रहँदै आएको थियो।
गत बुधबार मात्र उनको पुरानो भिडियो फुटेज सार्वजनिक भएको थियो।

विपिनको अवस्था पत्ता लगाउने उद्देश्यले सरकारले उनकी आमा र बहिनीलाई इजरायल पठाएको थियो। उनीहरू अहिले संयुक्त राज्य अमेरिकामा रहेका छन्।