लैङ्गिक हिंसाका घटना व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न

लैङ्गिक हिंसाका घटना व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न Ramaroshan
२०८२ असोज २९ गते
लैङ्गिक हिंसाका घटना व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सम्पन्न

धनगढी, २९ असोज । सेवा प्रदायक तथा सरोकारवालालाई लक्षित गरी आयोजित तीन दिने लैङ्गिकतामा आधारित हिंसाका घटना व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ।

कोइका (KOICA), यूएनएफपीए (UNFPA) र  Good Neighbors International Nepal को सहयोगमा वाक नेपाल (WAC Nepal) द्वारा सञ्चालित सेभ गर्ल परियोजना अन्तर्गत तालिम सम्पन्न भएको हो।

तालिममा माइती नेपाल, शिविन नेपाल, नेपाल प्रहरीका प्रतिनिधि, अछामका विभिन्न पालिका न्यायिक समितिका सदस्यहरू र स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

आज सम्पन्न समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रतिनिधि गौतम मिश्र, वाक नेपालका कार्यक्रम संयोजक टेकबहादुर थापा, प्रशिक्षक पलिता थापा र मीना चन्द, यूएनएफपीएका कार्यक्रम संयोजक कृष्ण चौधरी, तथा Good Neighbors International Nepal का प्रदेश संयोजक जगदीश दास लगायतको उपस्थिती रहेको थियो।

तालिममा सहभागीहरूले लैङ्गिक हिंसा भइसकेपछि पीडितलाई कसरी सहज र प्रभावकारी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा व्यवहारिक ज्ञान र सीप सिकेका थिए।

प्रशिक्षक पलिता थापाले नेपालमा लैङ्गिक हिंसा घटना व्यवस्थापनका लागि कुनै स्पष्ट गाइडलाइन नभएको बताइन्। उनले सेवाप्रदायक संस्थाहरूले दिने सेवा अझै पीडित केन्द्रित हुन नसकेको बताइन्। “सेवा सहज रूपमा नपाउँदा पीडितले थप पीडा भोग्नुपरेको छ,” उनले भनिन्।
सुदूरपश्चिममा “हिंसाबाट बच्चाले नै बच्चा जन्माउने अवस्था” रहेको र यस समस्याको दीर्घकालीन समाधानका लागि सबै पक्ष गम्भीर हुनुपर्ने उनले बताइन्।

त्यस्तै, यूएनएफपीएका कृष्ण चौधरीले सेवा प्रवाहमा विभिन्न कठिनाइहरू रहेको बताए। “पीडितलाई केन्द्रमा राखेर सेवा दिन सक्ने वातावरण बनाउन आवश्यक छ,” उनले भने। उनले कतिपय घटनामा कानुन नै बाँझिने भएका कारण पीडित न्यायबाट वञ्चित हुने अवस्था रहेको उनले बताए।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका गौतम मिश्रले भने, “पीडित परिवारले राहत र न्याय पाएको महसुस नभएसम्म हाम्रो काम पूरा हुँदैन ।,”
सुदूरपश्चिम प्रदेशमा महिला पीडित समाज भएका कारण हिंसा बढ्दै गइरहेको उनले बताए।

वाक नेपालका कार्यक्रम संयोजक टेकबहादुर थापाले विकास साझेदार निकायहरूले भौतिक पूर्वाधार मात्र होइन, चेतनात्मक र व्यवहारिक परिवर्तनमा जोड दिनुपर्ने बताए।

तीन दिनसम्म चलेको तालिमले सरोकारवालाबीच सहयोग, समन्वय र संवेदनशील दृष्टिकोणबाट लैङ्गिक हिंसा व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।